
इलाम, ११ असोजः महेन्द्ररत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लगायत कर्मचारीलाई बिहीबार कार्यकक्ष भित्रै थुनेका छन् । बागवानी संकायका विद्यार्थीहरुले प्रशासनको लापरवाहीका कारण आफ्नो भविष्य अन्यौलमा परेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख र कर्मचारीलाई थुनेका हुन् । विद्यार्थीहरुले पढ्न पाउने मौलिक हक क्याम्पसले नियोजित रुपमा हनन् गरेको भन्दै उनीहरुले एक घण्टा तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनसँग बारम्बार छलफल गर्दा पनि आफ्ना मागहरुप्रति प्रशासन मौन रहेको भन्दै तालाबन्दी गरिएको विद्यार्थी मनिस लिम्बूले बताए । विद्यार्थीहरुले प्रशासनका कर्मचारीलाई एकघण्टा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित तालाबन्दी गरेको बताए ।
बागवानी संकायबाट निश्चित मापदण्ड पुगेका विद्यार्थीहरुलाई लोकसेवा आयोग मार्फत जागिरमा भिड्न पाउनु पर्ने, कृषि विश्व विद्यालयमा पाठ्यक्रम पुगेका सम्पुर्ण विषयमा स्नाकोत्तर अध्ययन गर्न पाउनु पर्ने माग सहित आन्दोलनमा जानु परेको विद्यार्थी एञ्जिला बेडारीले बताईन् । विद्यार्थीहरुले लामो समयसम्म अध्ययन गर्दा पनि आफ्नो भविष्यको सुनिश्चित नभएको भन्दै पहिलो चरण अन्तर्गत आन्दोलन गरेको विज्ञप्ति मार्फत जानकारी दिएको हो । माग पुरा नभए पुनः अन्य चरणका कार्यक्रम घोषणा गरिने जारी विज्ञप्तिमा उल्लेख छ । बागवानी संकायमा सातौ ब्याजमा आइपुग्दा समेत कुनैपनि लोकसेवा आयोगको परिक्षा लेख्न नपाएको, मागप्रति क्याम्पसन मौन रहेको र आगामी दिनहरुमा पनि यसै गरे थप आन्दोलन घोषणा गरिने उनीहरुको चेतावनी छ ।