बिर्तामोड, ९ कातिकः आँखा छेउमा हँसिया रोपिएर घाइते भएकी अंशु गिरीको बिएण्डसी हस्पिटल बिर्तामोडले सफल उपचार गरेको छ ।
कार्तिक ५ गते आँखामा हसियाँ रोपिएर हस्पिटल ल्याइएकी ८ वर्षया गिरीको सफल शल्यक्रिया भएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।
दमक–२ घर भई मोरङ पथरी नगरपालिका–३ आफन्तको घरमा गएका बेला घाँस काट्न जान्छु भनि हिडेकी अंशु गिरीको लडेर आँखामा हसियाँ गाडिएको उनकी आमा विमला गिरीले बताइन् । छोरीको सफल उपचार तथा हस्पिटलमा भएको सेवा सुविधा र उपचारमा पाएको छुटको प्रशंसा गरिन् । उनले भनिन्, ‘छोरीको आँखा पहिलेकै अवस्थामा फर्किनु नै सबैभन्दा ठूलो खुशी हो ।’
अंशुको आँखाको शल्यक्रिया डा.धिरज गिरी नेतृत्वको टोलीले गरेको हो । हस्पिटलमा भएका आधुनिक उपकरण र सबै डाक्टरको सक्रियताले उपचार सम्भव भएको डा.गिरीले बताए । ‘हसियाँसहित हस्पिटलमा ल्याइएको थियो’ डाक्टर गिरी भने ‘आँखामा ३० मिलीमिटर भन्दा वढी रगत जमेको भए आँखा बिग्रने थियो ।’ घटना भएको डेढ घण्टामै हस्पिटल ल्याइएकोले पनि सफल उपचार गर्न सकिएको उनले बताए । घटनामा अंशुको दाहिने आँखाबाट अर्को आँखालाई समेत भेट्ने गरी हसियाँ पसेको डाक्टर गिरीले बताए ।