इलाम, १० कातिकः इलाम र झापालाई समेटेर प्रेम प्रधान चलचित्र ‘प्रेम दिवस’ निर्माण हुने भएको छ ।
चलचित्र निर्माण पक्षले झापाको बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण बारे जानकारी दिएको हो । चलचित्रका निर्देशक योगेश घिमिरेले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रेम दिवस निर्माण गर्न लागिएको हो ।
‘चलचित्रको छायाँकन पूर्ण रुपमा झापा र इलाममा हुनेछ’, निर्माता घिमिरेले भने, ‘चलचित्रका माध्यमबाट यहाँका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने हाम्रो उद्देश्य हो ।’ आफूले यसअघि निर्माण गरेको चलचित्र राधामा इलामको श्रीअन्तुको दृश्य समावेश गरेको समेत उनले सुनाए ।
इलामको निर्माण टोली शनिबार इलामको सन्दकपुर जाँदैछ । कात्तिक ११ गतेदेखि सन्दकपुरबाट चलचित्रको छायाँकन सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सन्दकपुर भ्रमण वर्ष सन् २०२० मा नेपालको घुम्नै पर्ने सूचीमा परेकाले पनि त्यहाँबाट चलचित्र छायाँकन सुरु गर्न लागिएको निर्देशक घिमिरेले बताए । छलचित्र छायाँकनका लागि सन्दकपुर गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको जनाइएको छ ।
करिब एक करोड ३० लाख रुपैयाँको लागतमा प्रेम दिवस निर्माण हुने चलचित्रका निर्माता सञ्जय न्यौपानेले बताए । चलचित्रमा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।
अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली सिनेमामा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरि लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्वाजले लेखेका हुन् ।