दशैंमा फरक–फरक पन

बिर्तामोड, ९ कातिकः दशैंका बीचमा झापाको बिर्तामोडमा थुप्रैँ नयाँ व्यवसाय सुरु भए । तर, यी तीनवटा व्यवसाय पृथक सन्देश दिने उद्देश्यका साथ खोलिएका हुन् । घरमै होटल तथा केटाकेटी रमाउने ठाउँ खोल्नु र बराबरी पैसा हालेर व्यवसाय सुरु गर्नुे नयाँपन हो ।  
दाजुभाइको व्यवसाय
बिर्तामोडका युवा व्यवसायी हिमालय र नारायण प्रसाईंले दशैंमा फरक व्यवसायिक जुक्ति निकाले । उनीहरुले बिर्तामोडमा   एकै पटक दुईवटा व्यवसाय सुरु गरे । असोज २७ गते उनीहरुले किड्स जोन खोले । जहाँ विद्युत प्रयोग नभएका सामग्रीबाट बालबालिकाले दिनभर मनोरञ्जन लिन सक्छन् । जोनमा दुई वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका खेल्छन् । व्यस्त अभिभावकले दिनभर बालबालिका किड्स जोनमा लगेर छोड्न सक्ने वातावरणा पनि सिर्जना भएको छ । दाजुभाईको विदेशको अनुभव र स्वदेशमै धेरै ठाउँ सामूहिक लगानी गरेका हिमालयले ह्याप्पी किचन नाम दिएर पारिवारिक वातावरणको भान्सा घर सञ्चालनमा ल्याए । परिवारकै सदस्य व्यवसायमा खटेका छन् । ह्याप्पी किचन हिमालयकी श्रीमति कृष्टिना र दाजु नारायणले चलाउँछन् । किड्स जोनमा बुबा तुलसीप्रसाद र नारायण खट्छन् । बजार व्यवस्थापन हिमालयको जिम्मामा छ ।  
दुवै व्यवसायमा ६५ लाख बढी लगानी भएको छ । पारिवारिक खाजा घर र बालबच्चाको लागि सुविधा सम्पन्न खेल्ने ठाउँ एकै साथ खोल्नु प्रसाईं दाजुभाईंको नयाँ सोच हो । २५ प्रकारका विभिन्न खेलकुदका सामाग्री जोनमा छन् । बिर्तामोडको बढ्दो जनसंख्यालाई ध्यानमा राखेर खेलकुद र स्वस्थ्यका लागि किड्स जोन खोलेको हिमालायले बताए । 
सामूहिक लगानीमा वर्गर 
यो सामूहिक लगानीको एउटा उदाहरण हो । ६ जना युवा मिलेर बिर्तामोडमा वर्गर कर्नर सञ्चानमा ल्याए । यो साईत पनि दशैं बिचमै जुर्यो । १५ लाखको लगानी उनीहरुले दामासायी रुपमा जुटाए । विभिन्न पेसा, व्यवसाय गर्ने उनीहरु मिलेर कर्नर खोले । वर्गरकै लागि मात्र कर्नर खोलेको सञ्चालक विरु दर्नाल बताउँछन् । राम्रो चले शाखा पनि खोल्ने अर्का सञ्चालक मैनालीले बताए ।  
लगानीका लागि सोच चाहिँन्छ, विचार र वाद व्यवसायमा लागू हुँदैन । बिर्तामोडमा उनीहरुले त्यही मान्यता स्थापित गर्ने सोच बनाए र कर्नर खोले । जहाँ बिर्तामोडका व्यवसायी दर्नाल, केशव मैनाली, हरी धिमाल, दिनेश चेम्जोङ, श्रवण पञ्जियार र कुवेर श्रेष्ठको लगानी छ । साहाकारी र मांशाहारी दुवै वर्गर उपलब्ध उक्त कर्नरबाट ‘होम डेलिभरी’ सुविधासमेत छ । जसले जतिबेला पनि ‘किचन’को अवलोकन गर्न सक्ने सुविधा अन्य खाजा घरको भन्दा फरकपन भएको सञ्चालकहरु बताउँछन् । 
स्वस्थ्य खानेकुरा कर्नरको लक्ष्य रहेको उनीहरुको भनाइ छ । ‘व्यपार, व्यवहार र मित्रता एउटा कुरा हो,  विचार अर्कै कुरा हो’ सामूहिक लगानीको विषयमा दर्नालले भने, ‘हाम्रो सामूहिक लगानी गर्ने केही पहिलादेखिको सोच अहिलेको दशैंमा पूरा भयो ।’ जो बिर्तामोडको एउटा नौलो व्यवसाय हो । 
स्वस्तिकमा १ करोड लगानी  
यो सेवाभावको व्यवसाय हो । जहाँ व्यापार मुख्य उद्देश्य राखिएको छ । यातायात र अन्य क्षेत्रमा काम गर्नेहरु मिले खोले स्वस्तिक यातायात अटो इन्जिनियरिङ वर्कसप । वर्कसपमा १० जनाको एक करोड लगानी रहेको छ ।  बिर्तामोड–१मा महाअष्टमीका दिन समान १०÷१० लाख खर्चेर वर्कसप सञ्चालनमा ल्याइएको हो । जहाँ टंकप्रसाद दवाडी, दिनेश सिटौला, रामप्रसाद घिमिरे, शेखर ढकाल, उमानाथ पाण्डे, यादवकुमार ओली, डिल्ली सिटौला, यादवचन्द्र दाहाल, फणिन्द्रराज दाहाल र कृष्णप्रसाद प्रसाईंको लगानी छ । 
सार्वजनिक यातायात सञ्चाल गर्ने, साना–ठूला सबै सवारी साधानको मर्मत र पाठपूर्जा विक्रि गर्ने उद्देश्यले वर्कसप खोलेको सञ्चालक दवाडीले बताए । ‘मन मिल्ने बीचमा नै टिम बनाएका हौँ’ दवाडीले भने, ‘जे–जे परे पनि मिलेरै गछौँ, त्यही भएर सामूहिक लगानी सम्भव भएको हो ।’ धार्मिक विश्वास अनुसार महाअष्टीमका दिन फलामको व्यवसाय सुरु गर्ने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिदैँ व्यवसाय सुरु गरेको उनीहरु बताउँछन् । हिजोदेखिकै यातायात क्षेत्रको अनुभवका आधारमा व्यवसाय खोलेको बताउने उनीहरु विश्वसनीय र भर पर्दो सेवा स्वस्तिको हुने दाबी गर्छन् । लामो अनुभव व्यवसायिक सफलताको आधार भएको सञ्चालक दवाडीले बताए । भने, ‘स्वस्तिकले फाइदामात्र हेर्दैन, गुणस्तरीय सेवा पनि दिन्छ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता