
इलाम, ९ कातिकःः इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन् । केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखा अगाडिबाटै उदाए जस्तो देखिन्छ । पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो । यहाँबाट धपधप बलेको सूर्य आकाशबाट होइन, हेर्नेको आँखा अगाडिबाटै उदाए जस्तो भान हुन्छ ।
कात्तिकदेखि बैशाख महिनासम्म सन्दकपुरमा सूर्योदयको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्दछ । सूर्योदयको दृश्यावलोकनका लागि नेपाली भूमि प्रयोग गर्नुपर्छ तर पर्यटकका लागि पर्याप्त होटल र पूर्वाधारको विकास छैनन । यही कारण पर्यटकबाट हुने आम्दानी जति भारतले लिने गरेको छ । नेपालतर्फ दुईवटा मात्र होटल छन् भारततर्फ सन्दकपुर बजार छ । पर्यटकहरु नेपालको भमिबाट सूर्योदयको दृश्यावलोकन गर्छन् र भारततर्फका होटलमा गएर खाने, बस्ने गर्छन् । भारततर्फ १४ वटा होटल छन् ।
यो सिजन सन्दकपुर जान उपयुक्त मानिन्छ । यस सिजनमा मौसम खुलेको हुने बाहिरका दृष्य मज्जाले देखिने भएकाले सन्दकपुर जाने मौसम सुरु भएको स्थानिय बालकृष्ण गुरुङले वताए । उनका अनुसार यहा दैनिक सयौँ पर्यटक आउने गरेका छन् । सन्दकपुर घाम झुल्केको र अस्ताएको हेर्न जाने ठाउँ नभएको उनको भनाई छ । यहाँ चौरीगोठ र औषधिय गुण भएका बनस्पती हेर्नकालागि पनि पर्यटकहरु आउने गरेको उनले वताए । ३६ सय ३७ फिट उचाईमा रहेको सन्दकपुरमा नेपालका मात्र हैन बिभिन्न देशका पर्यटकहरु आउने गर्दछन् ।
यहाँ जान मौसम खुलेसँगै बाटोको अवस्था पनि राम्रो हुने भएकाले सन्दकपुर पुग्न समेत सहज हुने स्थानिय पेम्वा लामाले जानकारी दिए ।
कच्ची सडक हुँदै पुग्न सकिने सन्दकपुर सन्दकपुर गाउँपालिकाको माबु हुँदै जान सकिन्छ भने देउराली वजार हुँदै माईमझुवाको बाटो भएर पनि जान सकिन्छ । यहाँ जान सूर्योदय नगरपालिकाको फिक्कलबाट पशुपतिनगरहुँदै भारतको बाटो भएर पनि जान सकिन्छ ।
चौरी धेरै पाइने भएकाले यहाँबाट चौरीको दुधबाट बनेको घिउ, छुर्पी लगायतका वस्तु बाहिरबाट आएका पर्यटकहरुले लैजाने गरेका छन् । चरनमा रहेका चौरीको दुधबाट वनेका विभिन्न दुधजन्य वस्तुहरु स्वास्थ्यकालागि पनि निकै फलदायी मानिन्छ ।
यहाँ पाइने चिराइतो, बुढो ओखत लगायतका वनस्पती स्थानियले औषधिका रुपमा सेवन गर्ने गर्दछन् भनेर आजको चियाबारी दैनिकले समाचार छापेको छ ।