
इलाम, ९ कार्तिकः शहरी क्षेत्रमा ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने विषय नयाँ होइन । तर, यस्तै नियम ट्राफिक प्रहरीले नै प्रसिद्ध पर्यटकीयस्थल कन्यामका घोडचढी व्यवसायीका हकमा पनि लागू गरेको छ । प्रदेश–१ को प्रसिद्ध पर्यटकीय केन्द्र कन्याममा घोडा चढाउनेको समेत मादक पदार्थ सेवन गरे÷नगरेको जाँच हुन्छ । मापसेमा परिने डरले कन्यामका ३९ जना घोडचढी व्यवसायीहरू सचेत हुन थालेका छन् । सूर्योदय नगरपालिकामा पर्ने पर्यटकीय केन्द्र कन्याममा यो नियम लागू छ ।६३ वर्षीय जमानसिंह तामाङ ०५७ सालयता निरन्तर घोडचढी व्यवसायमा छन् । बिहानै लगाम समातेर आफ्नो घोडालाई सूर्योदय–८ को डबुगाउँबाट कन्याम पुर्याउँछन् । पहिले कन्यामसम्म पुग्दा उनले बाटोमै मदिराको घुट्को लगाइसकेका हुन्थे । अहिले भने २० मिनेटमाथिको पर्यटकीय केन्द्र पुगुन्जेल मन मार्छन् । कन्याम पुगेर पनि आफ्नो लतलाई मनमा आउनसम्म दिँदैनन् । साँझ ५ बजेसम्म उनी मदिराको नामै लिँदैनन् । कन्यामको लभ डाँडा, मेची राजमार्गको सडक र फिल्म सुटिङ हुने हरियाली क्षेत्रमा घोडचढी गराउँदा जतिबेला पनि मापसे जाँचमा पर्ने जोखिम उनी मोल्न चाहँदैनन् । मापसे जाँचमा फेल भए व्यवसायबाट विस्थापित हुनुपर्ने डर छ, उनलाई ।
सडकमा गाडीसँगै घोडाहरू पनि कुद्ने भएकाले यस्तो नियम लगाइएको इलामका ट्राफिक प्रहरी इन्चार्ज पदम राई बताउँछन् । ‘पर्यटकहरूको सुरक्षाका लागि यस्तो नियम लागू गरेका हौं,’ उनी भन्छन् । तीन वर्षअघि इलाम आएका हुन्, राई । उनी आउनुअघि नै मापसे जाँचको नियम लागू भइसकेको थियो । मापसे जाँचको नियम लागू हुनुअघि चालकले मादक पदार्थ सेवन गरेका कारण घोडाहरू दुर्घटनामा पर्ने गर्थे । र, त्यसमा चढेका पर्यटक गम्भीर घाइते हुने गर्थे । मापसे जाँचको नियम लागेयता त्यस्ता अप्रिय घटना कम भएका छन् ।
सवारी साधनहरूमा एकपछि अर्काको पालो आएजस्तै इलामको कन्याममा पनि पालो प्रणाली छ, घोडाहरूको । गत वर्षबाट पालो प्रणाली लागू गरिएको घोडचढी व्यवसायी संघका सचिव सोमबहादुर तामाङ बताउँछन् । ‘थोरै घोडा हुँदा सजिलो थियो । धेरै हुन थालेपछि पालो प्रणाली शुरु गरिएको हो,’ उनी भन्छन् । पालो प्रणाली शुरु भएपछि घोडचढीमा दैनिक बढीमा तीन पटकसम्म पालो आउन थालेको र शुल्क महँगिएको व्यवसायीको भनाइ छ । व्यवसायी तामाङका अनुसार यसअघि ग्राहक तान्न तँछाडमछाड हुन्थ्यो । अहिले व्यवसाय व्यवस्थित बनेको छ । उनी भन्छन्, ‘अब ग्राहकलाई कन्भिन्स गर्न नसक्नेले पनि ग्राहक पाउँछ । उसको पालोमा अरूले घोडा चढाउन पाउँदैन् ।’