इलाम बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धिले उपभोक्ता मारमा तेल, चिनी दाल र चिउरामा पाँचदेखि १५ रुपयाँ प्रति किलो भाउ बढ्यो

इलाम, १८ असोजः विजया दशमी तथा दिपावी जस्ता चाडपर्वहरु नजिकिएसँगै  दैनिक उपभोग्य वस्तुको अचानक मुल्य बृद्धिले इलामका उपभोक्ता मारमा परेका छन् । उपभोक्ताको दैनिक भान्सामा दैनिक नभइ नहुने, दलहन, चामल, तरकारी साथै  चिनी, चिउरा, तेल लगायतको अचानक भएको मुल्य बृद्धिले उपभोक्ता मारमा परेका हुन् । 
चाडपर्वको मौका छोपी ब्यापारीहरुले आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्य वढाउँदा आफुहरु मारमा परेको उपभोक्ताले गुनासो गरे पनि उनीहरुको गुनासो सुन्ने कोही पनि छैन । असार मसान्तमा करिब १० प्रतिशत भन्दा वढि मुल्यबृद्धि सहेका उपभोक्ताले तीन महिना बित्न नपाउँदै भएको चर्को मुल्य बृद्धिले झनै मारमा परेको बताउने गरेका छन् । केशव खनालले मुल्य बृद्धिले आउने दशैँ अत्यन्तै महंगो हुने बताए । उनले बजारमा पाइने हरेक वस्तुको मुल्य बढेकाले सम्वन्धित निकायले चासो देखाउन नसकेको प्रतिक्रिया दिए । 
सर्वसाधारणले उत्पादन गरेको वस्तुको मुल्य भने खासै नबढे पनि बजारबाट घरमा भित्रिने वस्तुको मुल्य बृद्धि भएको स्थानियको भनाई छ । 
बिचौलियाले मुल्य बढाइँदिँदा उपभोक्ताले महंगो मुल्य तिर्न बाध्य भएको बताइएको छ । सर्वसाधारणको आम्दानीमा भने बृद्धि हुन सकेको छैन् । दैनिक उपभोग्य सामाग्रीको मुल्य बृद्धिले निम्न आय भएकाहरुलाई सबैभन्दा बढी असर पर्ने गरेको छ । वर्षेनी करिव १० देखि १५ प्रतिशत सम्म मुल्य बृद्धि हुने गरेको छ । यसरी वर्षमा करिब १० प्रतिशतको हाराहारीमा उपभोग्य वस्तुको मूल्य बृद्धि भए पनि सर्वसाधारणको आम्दानीमा भने बृद्धि हुन सकेको छैन । मूल्यबृद्धि अधिकांश सर्वसाधारणको टाउको दुखाइको विषय बनेको छ । अृमता निरौलाले प्रशासन र उद्योग वाणिज्य संघले यसतर्फ चासो नदेखाउँदा पनि समस्या भएको बताइन् । बजारमा ब्यापारीहरुले कृतिम अभाव सृजना गरेर पनि मुल्य बढाएको भन्दै अनुगमनलाई नियमितता दिनु पर्ने बताइन् ।   
दैनिक उपभोग्य सामानसँगै दलहन, गेडागुडी, लत्ताकपडा, जुत्तासहित घरायसी सामान तथा सेवाको मुल्य समेत अत्याधिक बढेको छ । मूल्यबृद्धिको अनुपातमा सरकारी कर्मचारी, संस्थानमा काम गर्ने कर्मचारीको तलब भत्ताबाहेक सर्वसाधारणको आम्दानीमा भने बृद्धि भएको छैन । 
देशमा ठुला, ठुला परिवर्तन भए । सरकार बलियो आयो भन्दै भाषण गर्ने नेताहरुको जीवनशैलीमा परिवर्तन आयो तर सर्वसाधारणको दैनिकी र आम्दानीमा परिवर्तन नभएको स्थानिय बताउँछन् । कृषि क्षेत्रमा काम गर्ने मजदुरको पनि ज्याला बढ्न सकेको छैन  । मूल्यबृद्धि हुँदै जाने र आम्दानी भने नबढ्ने समस्याका कारण सबै क्षेत्र प्रभावित भएका छन् । मुल्य बृद्धिको सबैभन्दा ठूलो मार कृषक तथा मजदुरलाई परेको छ । कृषि तथा मजदुरी गर्दै जिविकोपार्जन गर्नेहरुले आफूहरुको आयमा बृद्धि नहुने तर चर्को मूल्यबृद्धि हुँदा जीवन निर्वाह गर्न नै कठिनाई पर्ने गरेको गुनासो गरेका छन् ।
मूल्यबृद्धि हुने र क्रय शक्ति घट्ने क्रम जारी रहेकाले मुलुकको आर्थिक अवस्था नाजुक हुनेतर्फ सचेत रहन सर्वसाधारणले अपिल गरेका छन् । उनीहरुले कृषिजन्य वस्तु र ज्याला समायोजन गर्न सरकारसँग माग गरेका छन् । चिनी, चिउरा, तेल, दाल, चामल, मटर लगायतका वस्तुमा प्रतिकिलो पाँच रुपैंयाँ देखि १५ रुपैंयाँ सम्म मुल्य बृद्धि भएको छ । यता ब्यापारीले भने आफुहरुलाई नै मुल्य बढाएर आएका कारण मुल्य बढाएर नै बेच्नु परेको बताए । छन् । उनले पनि आफुलाई आएको मुल्यभन्दा सामान्य नाफा राखेर बिक्री गर्ने गरेको बताए । मुल्य बृद्धिका कारण मुलुकका अधिकांश क्षेत्र प्रभावित छन् । त्यसमाथि कालोबजारीले सर्वसाधारणको ढाड सेकिने क्रम जारी छ । तर सरकारले प्रभावकारी अनुगमन गर्न सकेको छैन । सँगै दैनिक उपभोग्य वस्तुको अचानक मुल्य बृद्धिले इलामका उपभोक्ता मारमा परेका छन् । 
उपभोक्ताको भान्सामा नभई नहुने वस्तुहरुको अचानक भएको मुल्य बृद्धिले दशैँ महंगो हुने निश्चित छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ईश्वर चिपालुले बजारमा कृतिम सृजना नगर्न ब्यापारीहरुलाई आग्रह गरेको बताए । उनले महंगी नबढाउन र चाहिँदो मात्र नाफा राख्न पनि सुझाएको प्रतिक्रिया दिए ।  
यता जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुएलले विगत वर्षभन्दा बजारमा सुधार आएको बताए ।
 उनले अब अनुगमनलाई तिव्रता दिइने समेत बताए । तर इलाम बजारमा चाडपर्व नजिकिएसँगै वर्षमा दुई पटक मात्र बजार अनुगमन हुने गरेको छ । सर्वसाधारणहरुले अनुगमनलाई तिव्रता दिएर उपभोक्ताले खाने वस्तु के कस्तो छ र महंगीको जानकारी राख्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् भनेर आजको चियाबारी दैनिकले समाचार प्रकाशन गरेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता