
इलाम ६, कातिकः समाचार लेखेको आधारमा पत्रकारलाई धम्क्याउने सुर्योदय नगरपालिका–३ का वडाध्यक्ष होम कार्कीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेको छ ।
अध्यक्ष कोकिला ढकालद्वरा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘प्रकाशित–प्रसारित समाचारको विषयमा चित्त नवुझेमा त्यसलाई सच्याउने कानुनी बाटो हुँदाहुँदै पनि फोन गरेर म सुर्योदयकै बासिन्दा हु समाचार अलि बुझेर लेख्नु भन्दै धम्की दिनुले नागरिककको प्रेस स्वतन्त्रतामाथी धावा बोल्ने र पत्रकारले निर्भिक रुपले समाचार सम्प्रेषण गर्न पाउने अधिकार हनन् गर्न खोजेको महासंघको ठहर छ । ’ जनप्रतिनिधी जस्तो व्यक्तीले पत्रकारलाई धम्क्याउनु नागरिकको सम्मानपुर्वक बाच्न पाउने हकमाथीको समेत उपहास भएको महासंघले ठहर गरेको छ ।
वडाध्यक्ष एवम भौतिक पुर्वाधार विकास समितीका संयोजक कार्कीले कार्तिक २ गते लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयलाई लिएर आइतबार ९८५२६८००६७ नम्बरको मोबाइलबाट फोन गरि नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिनालाई ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ राम्रो समाचार लेख्नु । तपाईको क्यामरा मेरो मोटरसाइकल तिर नफर्काउनु ’ भन्दै धम्क्याएका थिए । उपाध्यक्ष तिमसिनालाई धम्की दिएको विरोधमा कार्तिक ४ गते स्थानिय सन्देश साप्ताहिकका सम्पादक बासुदेव तिमसिनाले समेत विज्ञप्ती जारी गरी घटनाको विरोध गरेका थिए ।