
इलाम, २२ असोजः इलाम जिल्लामा भर्खरै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल १ नं. गण हेडक्वाटरले इलाम जिल्लासहित मेची पहाडी जिल्लाहरुमा सीमा सुरक्षा, समाजमा शान्ति सुरक्षा प्रदान गर्नको साथै विपद व्यवस्थापनमा मुख्य रुपमा जोड दिने बताएको छ ।
आईतबार गणको इलाम सदरमुकामस्थित हेडक्वाटरमा पत्रकारहरुसँग कुराकानी गर्दै गणपति सशस्त्र प्रहरी उपरिक्षक विदुर थापाले उक्त कुरा बताएका हुन् । तत्कालिन सशस्त्र प्रहरी बल नेपाल श्रीअन्तु गुल्मलाई गत जेठ २७ गते मन्त्रिपरिषदको निणर्य अनुसार भदौ १३ गतेबाट इलाममा १ नं. गण हेडक्वाटरमा परिणत गरेको हो ।
गणले तत्कालै इलामको पुर्वी भारतीय नाका पशुपतिनगरमा बिओपी (बोर्डर अभ्र्जरभेसन पोष्ट) स्थापना गर्ने भएको छ । त्यस लगतै जिल्लाको छब्बीसे, मानेभञ्ज्याङ र सन्दकपुरमा पनि बिओपी स्थापना गर्न जिल्ला सुरक्षा समिति मार्फत मन्त्रिपरिषदमा पठाई सकिएको उपरिक्षक खडकाले जानकारी दिए । इलाम सदरमुकामस्थित विभिन्न सरकारी भवनहरुमा बसिरहेको गणका करिब ६ सय २१ जनाको संख्यामा रहने प्रहरीको लागि इलाम नगरपालिका वडा नं. ५ स्थित घलेटार समाुदायिक वनमा गण स्थापनाको लागि पहल भईरहेको छ । त्यहाँस्थित व्यक्तिगत ४४ रोपनी जग्गा अधिग्रहण गर्ने र सामुदायिक वनको करिब १६ रोपनी जग्गा भोगाधिकार प्रयोजनको लागि मन्त्रालयस्तरमा कुराकानी भईरहेको उपरिक्षक खडकाले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गा व्यवस्थापनको कार्य सकिने बित्तिकै गणको भौतिक संरचनाहरु निर्माणको प्रकृयामा जानेछ । इलाममा हाल सशस्त्र प्रहरी बलको आइतबारे, दानाबारी र बाँझो चिसोपानीमा बेस क्याम्प रहेको छ भने प्रदेश नं. १ मा इलाम सहित ५ वटा गण हेडक्वाटर र एक बाहिनी रहेको छ । यता भित्रिदै गरेको चाडपर्वलाई लक्षित गरी गणले राजमार्ग र बजार सुरक्षा कार्यलाई तिब्रता समेत दिएको जनाएको छ । गणले शान्ति सुरक्षामा कुनै समस्या आए गणको फोन ०२७–५२१६७८ र टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।