
चनकवल, २१ असोजः कचनकवल गाउँपालिका–६ स्थित दारुल आधारभूत विद्यालयमा कचनकवल गाउँपालिका र पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ ।
पहिलो पाइला नेपालले ३६ र कचनकवल गाउँपालिकाले १ सय ७९ जना विद्यार्थीलाई स्कूल ब्याग, कापी, पेन्सिल, पानी पिउने बोतल, टिफिन बक्स लगायत सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देनले विद्यार्थीलाई यी सामाग्री वितरण गरे । पहिलो पटक शैक्षिक सामाग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे ।
यहाँका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने योजना पहिलो पाइला नेपालले बनाएको हो । यस सामाजिक संस्थाले विद्यार्थीका लागि ‘भाग्य बोक्ने झोला’ वितरण कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिरहेको संस्थाका झापा अध्यक्ष कृष्ण अग्रवालले बताए । पहिलो पाइला नेपाललाई बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन तथा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले शैक्षिक सामाग्री जुटाउन सहयोग गरेको थियो । ३६ जना विद्यार्थीका लागि आफूले ६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री जुटाइदिएको कन्सल्टेन्सीका प्रमुख खड्ग ताम्लिङले बताए ।
कार्यक्रमबारे थाहा पाएपछि कचनकवल गाउँपालिकाले बाँकी सबै विद्यार्थीका लागि स्कूल ब्याग तथा अन्य शैक्षिक सामाग्री जुटाएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अञ्जार आलम, उपाध्यक्ष निमसरी राजवंशी लगायतको समेत सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद् लिङ्देनले केही समयभित्रै गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिने बताएका छन् । बालबालिकाले शिक्षा पाउन सकेनन् भने गाउँमा बाटो, बिजुली मात्र भएर विकास नहुने उनको भनाइ थियो । ‘यसै वर्षदेखि यस गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने हाम्रो तयारी छ,’ सांसद् लिङ्देनले भने, ‘एसईई दिने बेलासम्ममा यहाँका विद्यार्थीले कम्प्युटर चलाउन सक्ने हुनुपर्छ, गरिबका छोराछोरीलाई कम्प्युटर शिक्षा दिने हाम्रो लक्ष्य हो ।’