इलाम ट्याक्सी स्टेण्डमा थपिए गाडी, थपिएन स्टेण्ड

इलाम, १२ कार्तिकः गाडी थपिए पनि गाडी राख्ने स्थान नथपिँदा इलाममा गाडी अटाउनै समस्या भएको छ । साँगुरो सडक अनि साँगुरो ट्याक्सी स्टेण्ड भएका कारण इलाम सदरमुकामबाट विभिन्न स्थानमा गुड्ने साना जीप तथा सवारीलाई समस्या भएको हो । समयमा छुट्नु पर्ने गाडी छुट्न नपाउँदा यात्रु तथा सवारीसाधन धनीलाई समेत मार्का पर्ने गरेको उनीहरुको भनाई छ । 
इलाम चोकबजार नजिकै रहेको ट्याक्सी यहाँबाट जिल्लाका विभिन्न स्थानमा दैनिक एक सय बढी गाडीहरु आवतजावत गर्छन् । तर यो स्टेण्ड साँगुरो भएपछि कहिले यात्रु त कहिले सवारी चालकलाई नै समस्या पर्ने गरेको छ । समयमा गाडी भित्र राख्न नपाउँदा सवारी चालकलाई समस्या हुन्छ त कहिले भित्र पसेका गाडी बाहिर निस्कन नसक्दा समयमा गन्तब्यमा पुग्नु पर्ने यात्री पुग्न पाउँदैनन् । त्यति मात्र हैन समयमा गाडी नछुट्दा कहिले यात्रु अर्कै गाडीमा जाने गरेकाले गाडी रित्तै पनि कुदाउनु पर्ने गरेको सवारी ब्यवसायी र चालकहरुको तितो यथार्थ छ । यो स्टेण्ड जिल्लाका ग्रामिण क्षेत्र र फिदिमसम्म दिउसो जाने सवारी आउने र जाने केन्द्र हो । सहज रुपमा करिब ४० देखि ५० वटा गाडी अट्न सक्छन् । तर यहाँ दैनिक एकसय बढी साना मारुती भेन र जीप गाडीहरु राख्नुपर्ने वाध्यता छ ।
सम्वन्धित निकायले बेवास्ता गरेका कारण यस्तो स्थिती आएको पूर्वेली ट्याक्सी एण्ड जीप यातायात सेवा प्रालिका कार्यकारी सचिव सुमन काफ्लेले बताए । आफुहरुले यसका लागि पहल गरे पनि इलाम नगरपालिकाले यसतर्फ नसोचेको उनको आरोप छ । दैनिक सवारी राखे वापत कर तिर्नु परेपनि कर अनुसारको सेवा नपाइएको सवारी धनीहरुको भनाई छ । यहाँ गाडी राखेवापत जीप गाडीको ३० रुपैंयाँ र साना मारुती भेनको २० रुपैंयाँ शुल्क तिर्नु पर्ने हुन्छ । तर पैसा अनुसार सेवा दिन नसकेको भन्दै सवारी ब्यवसायी पनि असन्तुष्टि ब्यक्त गर्छन् । सवारी धनी तथा चालक पप्पु शिवाले यस तर्फ इलाम नगरपालिकाको आँखा नपुगेको भन्दै दुखेसो पोखे । उसै त इलामबजारका सडकहरु साँगुरा छन् । ट्याक्सी स्टेण्डमा गाडी नआँटेपछि चालकहरुले इलामबजारका साँगुरा सडकमा नै गाडी पार्किङ गर्ने गरेका छन् । यसले गर्दा पैदलयात्री र मोटरसाइकलवालालाई समेत समस्या हुने गरेको छ । 
यसकालागि इलाम नगरपालिकाले ब्यवस्थित वनाउन पहल गर्दै गरेको इलाम नगरपालिका वडा नम्वर सातका अध्यक्ष नगरपालिका द्धारा गठित ट्राफिक ब्यवस्थापन समितिका संयोजक नरेश श्रेष्ठले वताए । उनले इलाम बजार नजिकै रहेको पशुहाट र नजिकै रहेको जग्गामा सवारी ब्यवस्थित गर्ने जानकारी दिए । तोकिएको स्थानमा मात्र पार्किङ गर्न यातायात ब्यवस्थापन समितिले सबै सवारीधनी तथा चालकहरुलाई आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता