
कञ्चनपुर, ३० असोज (रासस) : नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महाकाली नगरपालिका–४ का ५३ वर्षीय धनगिरि सुनारको प्रहरीले जीवितै उद्धार गरेको छ ।
महाकाली नदीमा हामफालेका सुनारको तत्कालै प्रहरीको टोलीले जानकारी पाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । सुनारको अवस्था सामान्य छ ।
जलेको अवस्थामा मोटरसाइकल फेला
शुक्लाफाँटा नगरपालिका–१ बन्साहमासे४प ३४३० नंको मोटरसाइकल जलेको अवस्थामा आज फेला परेको छ ।
सामुदायिक वनछेउ बिहान अज्ञात व्यक्तिले जलाएर बेवारिसे अवस्थामा छाडेको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । मोटरसाइकल पूरै जलेको अवस्थामा रहेको जनाइएको छ ।
हात्तीबाट धानबाली सखाप
भीमदत्तनगरपालिका–१९ धर्मभक्त टोलमा जङ्गली हात्तीको झुण्डले आज अपराह्न एक बिघा जग्गाको काटिएको धान पूरै खाएर नोक्सान गरेको छ ।
काटेर कुनिया बनाएर राखिएको धान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले नोक्सान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धान पूरै खाएपछि हात्तीको झुण्ड निकुञ्जतर्फ लागेको बताइएको छ ।