बिर्तामोड, १७ असोजः टेकबहादुर गिरी बस पार्क (नयाँबस पार्क ) बिर्तामोडमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ ।
चाडपर्वमा यात्रुको चाप बढी हुने र यात्रुले ठगिनु नपरोस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । मंगलबार इलाका प्रहरी कार्यालय बिर्तामोड, ट्राफिक प्रहरी कार्यालय झापा र बसपार्क तथा बजार व्यवस्थापन समितिले संयुक्त रुपमा सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् ।
कक्षको उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यातयात क्षेत्रको व्यवस्थापन हुन नसकेको बताए । सरकारले सिन्डिकेट अन्त्य गर्ने रणनीति लिए पनि प्रभावकारी हुन नसकेको प्रजिअ दाहालले बताए । चार्डपर्वका बेला मेचीराजमार्गमा सवारी र यात्रुको उच्च चाप रहन्छ । यात्रु सहायता कक्षले यात्रु व्यवस्थापनमा सहयोग पु¥याउने झापाका प्रहरी प्रमुख भिम ढकालले बताए । चाडपर्वमा चोरीका घटना बढ्ने बताउँदै नागरिककोे सुरक्षाको लागि झापामा २४सैँ घण्टा प्रहरी परिचालन गरेको सुनाए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले यस क्षेत्रबाट यात्रा गर्ने यात्रुलाई विना झन्झट गन्तव्यमा पु¥याउन यात्रु सहायता कक्षबाट सहयोग पुग्ने बताए । उनले भने, ‘ सबै गाडी बसपार्क छिरेर मात्र जान पाउनेछन्, बसपार्क भित्र हुने विकृति नियन्त्रणका लागि पनि इप्रहरीका बिर्तामोडले योजना बनाएको छ ।’ बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष धनराज योङ्याले बसपार्क व्यवस्थापनमा समिति चुकिरहेको बताए । उनले भने, ‘सबै क्षेत्रमा जान यात्रुलाई सहजता मिलाइनु पर्ने भएता पनि त्यो काम गर्न समस्या भइरहेको छ ।’ सहायता कक्षमा ६ जना जनपथ प्रहरी र २ जना ट्राफिक प्रहरी रहनेछन् ।
अर्जुनधारा –११का वडाध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, मजदुर संघका प्रतिनिधि लगायतको उपस्थित रहेको बस पार्क व्यवस्थापन समितिका सचिव शिव पौडेलले जनाए ।
यसैबीच, चाडवाडको बेला हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई सचेतना गराउन थालेको छ । सवारी चालक तथा व्यवसायीलाई एकै ठाउँमा भेला गरी ट्राफिक प्रहरीले सचेतना सुरु गरेको हो ।
सवारी चलाउँदा जुत्ता अनिवार्य गर्न जिल्ला ट्राफिक प्रहरीले जोड दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले चालक र व्यवसायीलाई भने, ‘जुत्ता नलगाए समस्या हुन्छ ।’
चेकजाँचमा कडाई ट्राफिक नियमको पालना लगायतको काम ट्राफिकले गरिरहेको भन्दै अब चालकले जुत्ता लगाए–नलगाएको पनि चेक जाँच गर्ने राईले बताए ।
यससँगै दुर्घट्ना कम गर्न झापामा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । चालक र व्यवसायीलाई भेला डाकेरै यस्तो जानकारी गराइएको हो । चप्पल मात्रै लगाएर सवारी हाँकेको भेटेमा लाईसेन्स नै खारेज गर्नसक्ने वा जरिवाना गर्नसक्ने ट्राफिक प्रमुख राईले बताए ।
‘चालकले जुत्ता लगाउनै पर्ने नयाँ नियम जस्तो लागे पनि यो पुरानै र दुर्घटना घटाउने व्यवहारिक नियम हो,’ प्रमुख राईले भने ‘भइरहेको सरकारी निर्देशिकालाई कार्यान्वयनमा ल्याउने हाम्रो प्रयास हो ।’ सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनु पर्ने नियम छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार धेरैजसो दुर्घटना चप्पल लगाएर सवारी चलाउँदा ब्रेक र क्लचबाट खुट्टा चिप्लिएर हुने गरेको पाइएको छ ।