३० घर नष्ट हुने गरि भएको ढोरपाटन आगलागी नियोजित भएको आशंका


  •  रबिना बोहरा

बागलुङ । बागलुङको ढोरपाटनमा ३० घर जलेर नष्ट हुने गरि आगालागीप्रति गम्भीर शंका उत्पन्न भएको छ । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र नजिकै पर्ने ढोरपाटन नगरपालिका वडा नं. ९ को नवी गाउँमा आगालागी हुँदा ४८ परिवार बस्दै आएका ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका हुन् ।
अत्याधिक चिसो हुने भएकाले घुम्ती बसोवास गर्ने उक्त गाउँका स्थानीय २\४ जना घर कुरुवालाई छाडेर गाईबस्तु सहित बोवाङ गाउँमा झरेका थिए । गाउँ खाली भएको बेला भवितव्य एउटा घरबाट आगो फैलिएको नभई सबै घरमा आगो लगाउँदै हिडिएको हुनसक्ने स्थानीयको शंका छ ।
आइतबार बिहान करिब दुई बजदेखि गाउँमा आगो फैलिएपछि ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहेको हनुमान ध्वज गुल्मका नेपाली सेना तथा ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारीहरुको सक्रियतामा नवी गाउँमा करिब ५३ घर रहेकोमा २३ घरलाई बचाउँन सफल भएको शिकार आरक्षका कर्मचारी विरबहादुर थापाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष हरी घर्ती सहितको टोलीले आगालागीबाट भएको क्षतीको अध्ययन गर्न घटनास्थल पुगेको छ । आगालागीबाट स्थानीयले बेसी झर्नुपूर्व भण्डारण गरेर राखेका घाँस, दाउरा, अन्नपात लगायत बन्दोबस्तीका समानहरु जलेर नष्ट भएको हनुमान ध्वज गुल्ममा कार्यरत इन्द्र शाहीले जानकारी दिनुभयो ।
अहिले भौतिक रुपमा ३० वटा घरका संरचना जलेको भेटिएपनि बेसीमा रहेका स्थानीयवासी आएपछि मात्र विस्तृत विवरण आउने शिकार आरक्षका कर्मचारी सागर सुवेदीले बताउनुभयो ।
नेपाली सेना, शिकार आरक्षमा कार्यरत कर्मचारी तथा नजिकका स्थानीयको सहायताले आगालागी नियन्त्रण गरी शिकार आरक्षको जंगलमा आगो फैलिनबाट बचाएको भन्दै भौतिक रुपमा ३० वटा घर देखिएपनि दुई भाग लगाएर वा कोठा कोठा विभाजन गरेर ४८ परिवार बस्ने गरेको जानकारी आएको सुवेदीले बताउनुभयो ।
आगालागी भएको गाउँमा पुग्नुभएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ४८ वटै परिवारका लागि आफूले व्यक्तिगत रुपमा जस्तापाता दिने र ढोरपाटन गरपालिकाकोतर्फबाट एक–एक लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
नगरप्रमुख नेपालीले ३० वटा घरमा ४८ परिवार बस्दै आइरहेको अवस्थामा अब सबै पीडितसँग घर होस भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभयो । सबै स्थानीयवासी बेसीमै बस्दै आइरहेकाले के कति क्षति भयो भन्ने बारेमा यकिन नभएपनि आगालागीबाट नष्ट भएका घरमा रहेका सबै भौतिक संरचनाहरु ध्वस्त भएको नेपालीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता