झापामा कारुणीक घटना, जलेर नाबालकसहित एकै परिवारका चारको मृत्यु

  • मनिषा चम्लागार्इँ

बिर्तामोड, ११ मंसिरः झापाको शिवसताक्षी नगरपालिका –७ स्थित लालझोडाको  एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको छ । आइतबार राति १०ः१५ तिर अचानक आगलागी भएको हो ।
सुतिरहेको अवस्थामा घरमा अचानक आगलागी हुँदा घर धनी ३६ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती  ३० वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी सुप्रिया भनिने चन्द्र खनाल र ६ महिनाका नाबालक टिकाराम खनालको जलेर मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग स्थित झिलझिलेचोकबाट चार किलोमिटर दक्षिणमा रहेको खनालको घरमा अचानक आगलागी हुनसाथ प्रहरी र दमकललाई खबर गरे पनि घर र खनाल परिवार जलेपछि मात्र दमकल र प्रहरी पुगेको स्थानीय केशव आचार्यले बताए । आगोले खनालको कच्ची घरको भुईँतला पुरै जलेपछि स्थानीयले थाहा पाएको साथै मटर र कलको सहायतामा निभाउने प्रयास गरे पनि नसकिएको आचार्यको भनाई छ । आगलागी भएको एक घण्टा पछि दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । 
खनाल परिवार सबैजना माथिल्लो तलामा सुतेकाले उद्दार गर्न नसकिएको स्थानीय बताउँछन् । खनालको घरमा जोत्न र थ्रेसर चलाउने ट्याक्टर समेत रहेको र सो ट्याक्टरका लागि डिजेल ल्याएर भुईतलामा राख्ने गरेकाले आगोले चाँडो ठुलो रुप लिएको स्थानीय शेखर अधिकारीले बताए । आगलागीबाट अन्न, लत्ताकपडासहित एउटा मोटरसाईकल पूर्णरुपले जलेको छ । 
क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयले अनुमान गरे पनि अनुसन्धान भइरहेको उनको भनाई छ । घटना स्थलमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकाल समेतको टोली पुगेको थियो । राति आगलागी भएकाले उद्दारमा समस्या परेको थियो । दमक, बिर्तामोड लगायतका क्षेत्रबाट दमकल समयमा नपुग्दा यति ठूलो मानवीय क्षति भएको स्थानीयको भनाइ छ  । झापामा आगलागीका घटनामा एकै घरका चार जनाको जलेर मृत्यु भएको सम्भवतः यो पहिलो घटना भएको बताइन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता