इलामको समाल्वुङ देखी एपिएफको कप्तानसम्म

  • नमीन ढकाल

इलाम । पप्पु सुरुची (२९) विभागीय टिम एपिएफ महिला टिमकी कप्तान हुन । इलामको समाल्वुङ गाविस ( हाल सुर्योदय नगरपालिका–५) मा जन्मिएकी पप्पुले विगत ८ बर्षदेखी एपिएफ क्लबमा आवद्ध भएर फुटबल करियरलाई अगाडी बढाइरहेकी छन । १२ बर्षको उमेरबाट फुटबल खेल अगाडी बढाएको पप्पुको लागी ६० को दशकको सुरुवातमा फुटबल अगाडी बढाउन त्यती सहज थिएन् । भारतसंग सिमाना जोडिएको इलामको समाल्वुङ राजमार्गबाट १५ किलोमिटर मात्र टाढा भएपनि भौगोलिक रुपमा विकट थियो । त्यसमाथी पनि पुरुष प्रधान समाजमा एउटी युवतीलाई खुलेर समाजमा फुटबल खेल्न असहज नै थियो । फुटबल सुरुवात गर्दा क्षण सम्झदै पप्पु भन्छिन ‘घर छेउमा सानो भएपनि ग्राउन्ड थियो तर खेल्ने साथी थिएनन् । गाँउका केटाहरुसंग खेल्ने गर्थे कहिले काही केटाहरुको प्रतियोगितामा पनि सहभागी हून्थे ।’
केटाहरुसंगको संगतले कति पटक त गाँउले आमालाई पोल लगाउँदा दाजुहरुको गाली र कुटाइ समेत खाएको थिइन । तर आमाले उनलाई कहिले फुटबल खेल्नबाट रोकिनन् । १० बर्षमै बाबु गुमाएकी उनलाई आमाले बनिवुतो गरेर भएपनि इच्छा पुरा गर्थिन । ‘ममीले कहिलो फुटबल खेल्नबाट रोक्नु भएन उहाँ भन्नुुहुन्थ्यो नानी हरेश नखानु अवश्य सफलता पाइन्छ । ममीको आँटले पनि होला अहिले यो सफलता पाएकी छु ।’ उनले भनिन् । 
१२÷१३ बर्षको उमेरमा विहान ४ बजे आमाले बनाइदिएको ५ केजी बालुबा भरेको व्याग बोकेर ५ किलोमिटरभन्दा परसम्म दौडिन्थिन । निरन्तर अभ्यास गरेपनि जिल्लामा महिला फुटबल नहुँदा भने उनी निराश नै बनेको थिइन । गाँउका केटाहरुसंगको दैनिक अभ्यासले उनको खेल भने निखारिँदै गएको थियो । १५ बर्षको उमेरमा श्रीअन्तुकी साथी कला राईको आग्रहमा उनी पहिलो पटक खेलाडीको रुपमा मैदान उत्रदै उपाधी समेत जितिन । पहिलो प्रतियोगिता उनी यसरी सम्झिन्छिन ‘ फिक्कलको पान्दाममा महिला फुटबल हुँदै रहेछ कलाहरुको टिम कट्टेवुङ सेमीफाइनल पुगेको रहेछ स्ट्राइकर नहुँदा समस्या भएपछि मैले खेलेर फाइनल मात्र जिताइन् उत्कृष्ट खेलाडी समेत चुनिए ।’ त्यसपछि हरेक जसो प्रतियोगितामा उनी चम्कदै गइन । ‘ आसपासका गाँउमा हुने प्रतियोगितामा म खेल्ने भनेपछि अरु खेलाडी खेल्नै नमान्ने । पप्पु खेल्ने भए हाम्रो टिम खेल्दैन भन्दै तर्कन्थे ।’ उनी सम्झन्छिन । त्यसपछि हरेक ठाँउमा हुने प्रतियोगिताको व्यक्तीगत उपाधी उनकै पोल्टामा जान थाल्यो ।  १५ बर्षको उमेर घरको समस्या देखेपछि उनी पारी भारतको ओकाइटी चिया बगानमा समेत काम गर्न गइन । दिनभरी बगानमा चिया टिपाइ गर्दा समेत उनले आफनो फुटबल प्रशिक्षणलाई भने कमी आउन दिइनन् । 
फुटबलको ट्रनिङ पोइन्ट
गाँउको प्रतियोगितामा आफनो खेलकौशल देखाउँदै आएकी पप्पुको लागी प्रशिक्षक दर्शन भक्तराज ट्रनिङ पोइन्ट बनेर आए ।  साविकको पञ्चकन्या गाविसको केराबारीमा भएको महिला फुटबल प्रतियोगितामा उनको खेललाई भक्तराजले नजिकैबाट नियालेका रहेछन । पप्पु भन्छिन ‘ मलाई त केराबारीमा खेल्न मन थिएन सवैले बोलाउन थाले राम्रो पनि खेले । दर्शन गुरु पनि आउनुभएको रहेछ खेल हेरे फर्किनुभयो मलाई थाहै थिएन् ।’
पप्पुको खेल हेरेर फर्किएका भक्तराजले जिल्ला छनौटको बेला उनलाई टिमको मुख्य स्ट्राइकरको जिम्मा दिए । टिममा पर्ने वितिकै सन २००८ मा १० औ राष्ट्रिय महिला फुटबल महेन्द्रनगरमा हुने निश्चित भएपछि उनी कडा मेहनत गर्न थालिन । भक्तराजले आश गरेको खेलाडी भएको कारण पनि १५ दिन उनले निरन्तर आफनो खेलमा ध्यान दिँदै महेन्द्रनगरमा उनी टिमको स्ट्राइकरको रुपमा मैदानमा देखा परिन् । एपिएफ, आर्मी, पुलिस जस्ता शसक्त विभागीय टिम सम्मिलित उक्त प्रतियोगितामा पिएलए, रौतहट, काठमाण्डौ जस्ता बलिया टोलीलाई हराउँदै फाइनलमा एपिएफसंगको भेट पक्का गरेको थियो इलाम टिमले । अनु लामा, जमुना गुरुङ, चन्द्रा राई, प्रमिला राई, अम्बिका दाहाल जस्ता नियमित प्रशिक्षण गरिरहेको खेलाडी सम्मिलित टिमसंग ६–० ले पराजित बन्दै इलाम टिम उपविजेतामा सिमित भयो । तर पप्पुको खेलको सवैतिर चर्चा भयो । उनी सम्झिन्छिन ‘ फराकिलो हार व्यर्होयौ तर गुरुको सपना पुरा गरे  त्यसैमा खुशी भयौ ।’
विभागीय टिमको नजर
महेन्द्रनगरमा उत्कृष्ट खेल पस्कदै टिमलाई उपविजेता बनाएपछि उनीमाथी बिभागीय टिमहरुको नजर पर्न सुरु ग¥यो । तत्कालिन माओवादी जनसेनाको टिम पिएलएकी टिम मेनेजर बिमला पौडेलले आफनो टिमबाट खेल्ने अफर समेत गरिन । पिएलएले जागिर समेत दिने भयो तर पप्पुले उनको प्रस्तावलाई स्विरकार गर्न सकिनन् । उनले भनिन ‘ ममीलाई छाडेर फुटबल अगाडी बढाउन सक्दिन थिए । फ्ल्याट समेत दिने भएका थिए दर्शन गुरुले अझै मेहनत ग¥यौ भने अरु धेरै अवसर आउन सक्छ भन्नुभयो त्यसैले साइन गरिन ।’
त्यसअघि नै महेन्द्रनगरको खेलबाट नै अनु लामाले पप्पुलाई एपिएफमा अनुवन्धन गराउन सम्र्पक गर्न नखोजेकी होइन । सम्पर्क नम्बर नहुँदा उनी एपिएफसंग नजिक हुन पाइनन् । भारतसंगको सिमा क्षेत्र भएकाले नेपाली फोनमा सम्र्पक हुन समस्या थियो । 
२०६५ चैत्र २४ देखी ३० गतेसम्म काठमाण्डौमा सम्पन्न ५ औ राष्ट्रिय खेलकुदमा समेत फाइनलमा अनु लामा र जमुना गुरुङले गोल गरेपछि पप्पु सम्मिलित पुर्वाञ्चल टिम ४–० ले एपिएफसंग पराजित बन्यो । पुर्वाञ्चल टिम फाइनल प्रवेश गरेसंगै एपिएफ टिमले आफनो क्लबमा आवद्ध हुन उनलाई प्रस्ताव ग¥यो । जागिर समेत पाइने भएपछि उनी आफनो भविष्यको लागी एपिएफसंग अनुवन्ध भइन । 
राष्ट्रिय टिममा अवसर
सागको २६ बर्षे इतिहासमा पहिलो पटक महिला फुटबल समावेश हुने भएपछि नेपालले समेत आफनो टिम तयार गर्न सुरु ग¥यो ।  १० बर्षसम्म निस्क्रिय रहेको नेपाली महिला टिम पुनः एकपटक जुरमुराएर उठ्यो । सोही जोशमा पप्पु समेत राष्ट्रिय टिममा पर्न सफल भइन । त्यस समयसम्म उनले एपिएफ टिमबाट डेव्यु समेत गरेकी थिइनन् । ‘जिल्ला टिम र पुर्वाञ्चल टिममा हुँदा खेर नै देखाएको प्रर्दशनले होला एपिएफबाट डेव्यु समेत नगरी राष्ट्रिय टिममा परे ।’ उनले भनिन ।  २ फेव्रुअरी २०१० उनको जिवनकै अमुल्य क्षण बन्यो । पहिलो पटक उनले नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान छिर्ने अवसर पाइन । श्रीलंका विरुद्धको त्यो खेलमा नेपालले स्पष्ट अग्रता बनाएको बेला उनी नेपाली टिमकी भरपर्दी स्ट्राइकर अनु लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेव्यु गरिन् । डेव्युको क्षण सम्झदै पप्पु भन्छिन ‘ हामीले स्पष्ट जित निकालेका थियौ त्यसैले मैदान छिर्दा खासै डर लागेन ।’ त्यो खेल नेपालले ८–१ गोल अन्तरले जित निकालेको थियो । समुह चरणको अन्तिम खेलमा पाकिस्तान विरुद्ध अनु लामाकै स्थानमा प्रवेश गर्दै १ गोल गरेपछि नेपालले ७–० ले जित निकालेको पप्पु बताउँछिन । प्रतियोगिता बिजेता बनेसंगै उनी गृह जिल्लामा सम्मानित मात्र भइनन् एपिएफ टिमले उनी सहित ७ जनालाई बढुवा गर्दै जवान पदबाट सहायक हबलदार नै बनायो ।
दोश्रो प्रतियोगिताको लागी उनले पहिलो महिला साफ नै कुर्नुप¥यो । महिलाहरुको खासै अन्तराष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएकाले नेपाली टिम निस्क्रिय जस्तै बनेको बेला  दक्षिण एसियाली फुटबल संघले सन २०१० को अन्त्यमा महिला साफ आयोजना गर्ने भएपछि उनले समेत खेल्ने अवसर पाइन । दोश्रो साफ च्याम्पियनसिप समेत उनले नेपाली टोलीमा रहेर नै सहभागी भइन । तेश्रो साफ २०१४ मा भने उनी सहभागी हुन पाइनन् । तत्कालिन समयमा प्रशिक्षकले उनलाई छनौटमा नै सहभागी नगराएको गुनासो गरिन । ‘तेश्रो साफ गेमको लागी मलाई र रेनुका नगरकोटीलाई छनौटमा सहभागी नगराई नै प्रशिक्षक किशोर केसीले फर्काउनुभयो । यो नै फुटबल करियरको सवैभन्दा दुःखद क्षण हो मेरो लागी ’ उनले भनिन् । 
चौथो साफमा समेत उनी नेपाली टिममा पर्न असफल भइन । ६ बर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै उनी म्यानमारमा सम्पन्न सन २०२० मा हुने ओलम्पिकको लागी एसियाली छनौट खेलको २० सदस्यीय नेपाली टिममा पर्न सफल भइन तर मैदानमा उत्र्न भने पाइन्न् । स्ट्राइकरबाट सुरु भएको उनको फुटबल यात्रा अहिले सेन्ट्रल डिफेन्ससम्म पुगेको छ । होचो कदकी उनी क्लब र राष्ट्रिय टिममा डिफेन्सिङ लाइन सम्हाल्छिन । ओलम्पिकको छनौटको दोश्रो चरण पुग्नु सवैभन्दा खुशीको क्षण लागेको उनी सुनाउछिन । ‘६ बर्षपछि टिममा परे तै पनि मैदान उत्र्न पाइन तर म्यानमार र भारत जस्ता बलिया टोलीलाई बराबरीमा रोक्यौ त्यसैमा सफलता भएको मान्छु ।’
कप्तानीको आर्मव्यान्ड  
२९ बर्षिया उनले गत जनवरीबाट विभागीय टिमको नेतृत्व सम्हाल्ने अवसर पाइन । तत्कालिन कप्तान सजना राना मगर बैदेशिक रोजगारका लागी दुवइ गएपछि टिम सम्हाल्ने जिम्मा पप्पुमा आएको हो । नेपाली राष्ट्रिय टिमको भार बोकेको एपिएफको नेतृत्वसम्म पुग्न उनले निक्कै मेहनत गरेकी थिइन । ८ बर्ष एपिएफको खेलाडीको रुपमा रहेकी उनको कप्तानको रुपमा डेव्यु समेत सनसनीपुर्ण थियो । १६ औ राष्ट्रिय महिला फुटबल २०७४ को उपाधी एपिएफ टिमले जित्दा टिमको कप्तानी पप्पुले गरेकी थिइन । त्यस लगतै गत फागुनमा मैत्रीपुर्ण खेलका लागी हंङकङ पुगेको एपिएफको टोलीलाई समेत उनले नै नेतृत्व गरिन् । फिफा वरियता क्रममा समेत नेपालभन्दा माथी रहेको हङकङको टोलीलाई एपिएफ जस्तो एउटा फुटबल क्लबले ३–१ को जित निकाल्न सफल भयो । एउटा राष्ट्र विरुद्ध क्लबको कप्तान हूँदो अवसर पप्पु यसरी सम्झिन्छिन ‘ पहिलो पटक एउटा राष्ट्र विरुद्ध क्लबको कप्तानको रुपमा मैदान उत्रनु थियो । भरखरैमात्र टिमको नेतृत्व सम्हाल्न सुरु गरेको थिए तुलनात्मक रुपमा वरियता क्रममा हाम्रो राष्ट्रिय टिमभन्दा माथीको टोली केही डर पनि थियो कतै हारिन्छ की भन्ने तर साथीहरुको टिम कम्विनेसनले जित निकाल्दा सार्हैै हर्षित भए ।’ 
एन्फाबाट निराश
सरकारले महिला तथा पुरुष फुटबललाई हेर्न दृष्टिकोण परिर्वतन नभएसम्म फुटबलले गति नलिने उनी सुनाउछिन । ‘पहिला भन्दा अहिले केही सुधार त छ तर महिला टिमलाई अझै पनि अवसर भने कमै मात्र छ । सकारात्मक रिजल्ट नल्याउँदा पनि सरकारले पुरुष टिमका लागी भने मैत्रीपुर्ण खेलहरुका लागी अवसर दिन्छ हामीलाई त्यो छैन । पारिश्रमिकमा भने विभेद छ पुरुषलाई मासिक १५ हजार दिँदा हामीलाई भने ७ हजार मात्र । प्रतियोगिताको पुरस्कार राशीमा समेत अन्तर छ पुरुष लिगको बिजेतालाई ५० लाख पुरस्कार राख्दा महिला लिगका लागी भने २ लाख मात्र ।’
महिला टिमलाई मैत्रीपुर्ण खेलको अवसर नहुँदा विपक्षी टिमको रणनिती आंकलन गर्न सारै समस्या हुने उनको तर्क छ । ‘ एन्फाको नयाँ नेतृत्वले ओलम्पिक छनौट अघि चीनमा मैत्रीपुर्ण खेलको अवसर जुटाइदिनाले रिजल्ट समेत सकारात्मक ल्यायौ । अझै अवसर दिने हो भने ८÷१० बर्षमा नेपालीको लागी विश्वकप असंभव चाही छैन ।’
फुटबल करियरलाई अगाडी बढाउन चाहने नयाँ पुस्तालाई उनी खेलसंगै अध्ययनलाई पनि निरन्तरता दिन सल्लाह दिन्छिन । ‘हामीले त फुटबल भनेर पढ्दा पढदै छोडयौ नयाँ आउने भाइबैनीहरुले चाही त्यसो नगर्नु । खेलसंगै पढाइलाई अगाडी बढाउदा मात्र पुर्ण सफलताको महसुस हुन्छ ।’ अन्त्यमा उनले भनिन । 
तस्विर ः पप्पु सुरुची लगायत एपिएफका खेलाडीहरुबाट प्राप्त

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता