महोत्सवको आकर्षण कञ्चनपुरको विजयसाल

  • मनिषा चम्लागाईँ

बिर्तामोड, १४ माघः ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा हस्तकलाद्वारा निर्मित सामान अवलोकन गर्ने र किन्नेको संख्या बढीरहेको आयोजकले बताएको छ । सुदूरपश्चिमको कञ्चनपुरबाट ल्याइएको विजयसालका अम्खरा स्वास्थका लागि हितकर भएकाले किन्नेको संख्या बढेको महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले बताए । 
कञ्चनपुरको भिमदत्त नगरपालिका–१को मेरिट काष्ठकला उद्योगमा निर्मित विजयसालका अम्खरा, बोक्रा, खोटोले अवलोकनकर्ताको ध्यानखिच्न सफल भएको उद्योगका बजार व्यवस्थापक पुष्प मैनालीले बताए । 
महोत्सवमा स्टल राख्न ३ लाख बढीको विजयसालका सामाग्री ल्याएर पुष्प र पुजा मैनाली बिर्तामोड आएका छन् । विजयसालको भाडोमा राखेको पानी पिउँदा मुख्यतया पेट सम्बन्धि विभिन्न रोगहरु निको हुने गर्छ ।  ‘औषधिको रुपमा समेत प्रयोग हुने यसको महत्व बुझ्ने जोकोही अवलोकनकर्ता आए पनि खरिद गर्नु हुन्छ’ मैनालीले भने, ‘विजयसालको अम्खरामा राखेको पानी, बोक्रा, खोटोबाट निकालिएको रस विभिन्न रोगको उपचार हुन्छ, हामी देश र देशभन्दा बाहिर जहाँ पुग्छौँ त्यहाँ विजयसालको माग अत्याधिक हुन्छ । ’  
स्टलमा बसेका पुष्प र पुजा भाँडामा राखिएको पानी पिउँदा हुने फाइदाको बारेमा बताउन र बिक्री गर्न व्यस्त देखिन्छन् । उनीहरु ३ दिनमा     हजार रुयैयाँ बराबरको विजयसालका सामाग्री बेच्न सफल भएका छन् । ‘विजयसालको भाडामा राखेको पानी पिएमा मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने, हाडजोर्नी दुख्ने लगायतका बिरामीलाई फाइदा पुग्छ’  पुजा भन्छिन्,  ‘हामी धेरै स्थानमा यसको स्टल लिएर पुग्छौँ, महत्व बुझ्नेको पहिलो रोजाई विजयसालबाट निर्मित अम्खरा पर्छ ।’ स्टलसम्म आइपुग्ने कतिपय ग्राहकले आफ्नै लागि त कतिपयले उपहार दिन अम्खरा किन्ने गरेको पुजाले सुनाइन् । 
३ दिनमा ६४ हजार रुपैयाँ बराबरको विजयसालबाट निर्मित सामाग्री बिक्री भएको छ । महोत्सव अवलोकन गर्न आउने नेपाली तथा विदेशी नागरिकले विजयसालका भाँडा निकै मन पराएको उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । महोत्सवमा गरिएको प्रदर्शनीको सहभागिताले विजयसालका भाडाको माग बढ्ने भट्टराई बताउँछन् । विजयसाल र अन्य स्थानबाट ल्याइएका हस्तकलाका सामाग्रीले महोत्सवको गरिमा बढाएको महोत्सव आयोजक समितिका प्रवक्ता सञ्जिव घिमिरेले बताए । 
महोत्सवमा दुई सयदेखि १५ सयसम्मका विजयसालका सामाग्री राखिएको छ । दुर्लभ विरुवाका रुपमा रहेको विजयसालबाट निर्मित अम्खरा जति दुर्लभ छ त्यति नै यसको उपयोगिता पनि रहेकाले विजयसालको अम्खरा किन्न आएको झापा धुलाबारीका होम घिमिरे सुनाउँछन् । दुर्लभ र लोपोन्मुख विजयसालको भाँडाकुडा लिएर छिमेकी देश चीन, भारतसम्म पुग्ने गरेको पुष्प सुनाउँछन् । एक प्याकेडको २०० पर्ने विजयसालको धुलोले चार महिनासम्म पुग्ने उनले सुनाए । दुर्लभ र लोपोन्मुख विजयसाल विशेष गरी सुदूरपश्चिम तराईको कञ्चनपुर, कैलाली र कपिलबस्तु जिल्लामा पाइन्छ । 
महोत्सवमा मोरङ सुन्दरहरैंचा नगरपालिकाबाट ल्याइएको गुराँस बाँस हस्तकला अवलोकनकर्ताको रोजाइमा पर्ने गरेको रीता दाहालले बताइन् । दाहालले स्टलमा बाँसबाट बनेको घर, मन्दिर, घडी, चराचुरुङ्गी, बुद्धको मूर्ति, विभिन्न जनावरका आकृति, चुरी स्टेन, पेन स्टेन, गमला, किताव स्टेन लगायत सामाग्री प्रर्दशनी गरेकी छन् । उनले १ लाख ५० हजार रुपैयाँ बराबरका हस्तकला निर्मित सामाग्री राखेकी छन् । तीन दिनमा २५ हजार रुपैयाँ बराबरको सामाग्री बिक्री गरेकी छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता