सूर्योदय प्रदेश १ को पर्यटकीय नगरी घोषित, घोषणा कार्यक्रममा मुख्यमन्त्री राई

इलाम, ७ माघः इलामको पूर्वी क्षेत्र सुर्योदय नगरपालिका प्रदेश १ को पर्यटकीय नगरी घोषणा भएको छ। प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् पर्यटकीय नगर बनाउने निर्णयअनुसार मुख्यमन्त्री शेरधन राईले आइतबार सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेका हुन्। घोषणा भएसँगै सूर्योदय नगरपालिकाले आफ्नो लेटरप्याड र कार्यालय भवनमा पर्यटकीय नगर लेखनको शुरुवात गरेको छ। 
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रत्येक सेकेण्डको मूल्यलाई बुझेर प्रदेशको विकासका लागि सबै जनप्रतिनिधि र कर्मचारी एक भएर काम गर्नुपर्ने उनले बताए। सूर्योदय नगरपालिका इलामको चौथो नगरसभाको उद्घाटन तथा पर्यटकीय नगर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सडक, खानेपानी, पर्यटनको विकास मात्रै नभएर जनताको समृद्धिको लागि स्थानीय सरकारले भुमिका बढाउनुपर्ने बताए। प्रदेश १ को समृद्धिका आधार कृषि क्षेत्र रहेकाले चिया, अदुवा, अम्रिसो, अलैँची, धान उत्पादनको वृद्धि र बजारीकरणका लागि प्रदेश सरकारले लगानीमैत्री कार्यक्रम शुरु गरेको मुख्यमन्त्री राईको भनाइ थियो।
 पर्यटन, कृषि र व्यापार प्रदेश नम्बर एकको मुख्य आयश्रोत भएकाले भारत र बंगलादेशमा बजार विस्तारका लागि कुटनीतिक पहल गर्ने मुख्यमन्त्री राईले प्रतिबद्धता जनाए। सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले ब्यानर खोलेर सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर भएको घोषणा गरेका थिए। सूर्योदय नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरपालिकाले अनलाइन सिस्टममा संचालन गरिएको र इ(प्रविधिलाई विद्यालय तहसम्म पुर्‍याइएको बताए। उनले नगरको प्रोफाइल, एकिकृत पाश्र्वचित्र बनिसकेकोले एकिकृत आवधिक गुरुयोजना बनाएर स्थानीय जनताका आवश्यकताअनुसार अगाडि बढ्ने बताए। सभा उद्घाटनका अवसरमा नगरका उत्कृष्ट कर्मचारी कार्यालय सहायक बालकुमार गिरीलाई मुख्यमन्त्री राईले पाँच हजार नगदसहित पुरस्कृत गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता