फाल्गुनन्द गोल्डकपः दार्जिलिङसँग ब्वाइज युनियन पराजीत


फिदिम, २६ पुसः  फिदिममा जारी १० औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा दार्जिलिङको रोयल फुटबल क्लब पुगेको छ । सदरमुकाम स्थित फिदिम माविको मैदानमा बिहिबार भएको क्वाटर फाइनलको अन्तिम खेलमा काठमाण्डौको ब्वाइज युनियन क्लबलाई २–० गोलले पराजीत गर्दै दार्जिलिङ  सेमीफाइनल पुगेको हो । 
दार्जिलिङको जितका लागि करन राई एक्लैले दुई गोल गरे । खेलको १६ औँ मिनेटमा करनले सिद्धान्त क्षेत्रीको पासलाईे गोलमा परिणत गरेर  सुरुवाती गोल गरे । पहिलो हाफमा १–० गोल अन्तरमा खेलेको व्वाइज युनियनले दोस्रो हाफमा पनि जवाफि गोल गर्न सकेन । खेलको ७४ औँ मिनेटमा सिद्धान्त क्षेत्रीको क्रसलाई करणनले गोल गरेर टिमलाई २–० को अग्रता दिलाए । करन गरेको दुई गोल दार्जिलिङलाई जितका लागि प्रयाप्त बन्यो । 
खेल अवधिभर दार्जिलिङले ब्वाइज युनियनलाई दबावमा राख्यो । बलियो देखिएको दार्जिलिङसामू राम्रो खेल्न नसक्दा ब्वाइज युनियन प्रतियोगिताबाट बाहिरिएको हो । बिहिबार भएको क्वाटर फाइनलको खेलमा दार्जिलिङका गोलकर्ता करन राई म्यान अफ दी म्याच भए  । उनले १० हजार नगद प्राप्त गरे । 
खेलमा टिमसेट  नभएकाले हार बेहोर्नु परेको ब्वाइजयुनियनका खेल प्रशिक्षक बिजय महर्जनले प्रतिक्रिया दिए । ‘टिमका सबै खेलाडीलाई मैदान उतार्न सकिएन,’ महर्जनले भने ‘नयाँ खेलाडी मैदानमा उतार्नु परेकाले खेलाडीको तालमेल मिल्न सकेन ।’
खेलमा जित निकाल्न सकेपनि खेलाडीले पाएको मौका चुकाएको दार्जिलिङका खेल प्रशिक्षक सचिन्द्र धिमालले बताए । ‘ब्वाइज युनियन बिरुद्ध धेरै स्कोर गर्नुपर्ने हो,’ धिमालले भने ‘गोल गर्ने सुन्दर मौकामा पनि खेलाडीले स्कोर थप्न सकेनन् । कमजोरीलाई सुधार्दै सेमीफाइनल जित्ने तयारी गर्नेछौँ ।’
क्वाटर फाइनलमा जित निकालेसँगै दार्जिलिङले सेमी फाइनलको खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । सेमी फाइनलको शुक्रबार हुने खेलमा सरस्वती क्लब काठमाण्डौसँग झापा ११ भिड्नेछ ।  प्रतियोगिताको बिजेता टिमले चार लाख र उपबिजेता टिमले दुई लाख नगद पुरस्कार सहित ट्रफि हात पार्नेछन् । प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता