प्रधानमन्त्री ओलीको अभिनन्दन बहिष्कार गर्न कांग्रेसको अपिल

इलनाः १९ पुसः नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । आज एक १७ बुदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो । 
 कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनाकबादी शासनका कारण असफलता तर्फ उन्मुख भइरहेका आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार तस्करी र भ्रष्टचारलाई मलजल र संस्थागत  गरेर जनतामाझ मात्र नभइ आफनै पार्टीभित्र समृत आलोचित भइरहेको ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफना कार्यकर्ता भरणपोषण गर्न तथाकित नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी र सम्पुर्ण इलामबासीको चेतनाको अबमुल्नय र मानमर्दन गरेको उल्लेख गरेको छ । 
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई माफियाकरण गरेको, प्यासाफिक समिटका नाममा कुटनैतिक मर्यादाको धज्जी उडाएको, ३३ केजी सुन प्रकरणमा हस्तक्षेप गरी निस्क्रिय बनाएको, निर्मला पन्त हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा नल्याई गैर जिम्मेबारपुर्ण अभिव्यक्ती दिएको, तिन तहका सरकारबाट जनतालाई करको मारमा पारेर आतंक सृजना गरेको जस्ता विभिन्न आरोप कांग्रेसले लगाएको छ । नेपाली कांग्रेसका सभापती हिमालय कर्मचार्यले काँग्रेसका नेता एवम कार्यकर्ताहरुलाई ओलीको अभिनन्दन बहिष्कार गर्न आग्रह गरेका छन ।  
प्रधानमन्त्री ओली पाँचथरको रविमा बाटो शिलान्यासपछि भोली इलाममा हुने लगानी सम्मेलनको उद्धघाटन र नागरिक अभिनन्दन ग्रहण गर्न आउने तय भएको छ । यसअघि गत १७ गते नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको विरोध जनाएको थियो ।

हेर्नुहोस् अपिल जस्ताको तस्तै
नेपाली कांग्रेस इलामको अपिल 
असफल र अधिनायकवादी प्रधानमन्त्रीको अभिनन्दन वहिष्कार गरौँ ।
संघिय लोकतान्त्रीक, गणतन्त्रात्मक नेपालको संविधानको सफल कार्यान्वयन, स्थायित्व, विकास र सुशासनको गहनतम जिम्मेवारीका साथ सहज वहुमतको सरकार सञ्चालन गर्ने जनादेश पाएको ओली नेतृत्वको वर्तमान नेकपा सरकार दुई तिहाईको दम्भ र अधिनायकवादी शासन शैलिका कारण असफलतातर्फ उन्मुख भइसकेको छ । राज्य संयन्त्रहरुको चरम दुरुपयोग र नेकपाकरण गर्दै संविधान र विधिको शासनका मुल्य, मान्यतालाई कुल्चिएर सर्वसत्तावाद तर्फको यात्रा तय गरेको वर्तमान सरकारले विभिन्न जनआन्दोलनका उपलव्धिका रुपमा प्राप्त संघियता, नागरिकका लोकतान्त्रिक अधिकार र गणतन्त्रात्मक शासन व्यवस्थाको मर्ममा प्रहार गरेर असफल बनाउँने र जनतामा निराशा भर्ने काम गरिरहेको छ । हत्या, हिंसा, बलात्कार, तस्करी र भ्रष्टचारलाई मलजत र संस्थागत गरेर जनतामाझ मात्र हैन आफ्नै पाटी भित्र समेत प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली विवादित र आलोचित भइरहेको वेला इलाम नगरपालिकाले नगरवासीका नाममा इलाम नगरवासीले तिरेको करको दुरुपयोग गर्दै आफ्ना कार्यकर्ताको भरणपोषण गर्न तथाकथित नागरिक अभिनन्दन गर्ने निर्णय गरेर इलाम नगरवासी र सम्पूर्ण इलामवासीको चेतनाको अवमुल्यन र मानमर्दन गरेको छ । 
के.पी शर्मा ओली सम्पूर्ण देशवासी र अझ हामी इलामवासीका दुष्मन रहेको पुष्टी गर्ने निम्न आधारहरु रहेको हुँदा उक्त अभिनन्दन कार्यक्रम वहिष्कार गर्न र आ–आफ्नो तर्फबाट श–सक्त विरोध जनाउन नेपाली कांग्रस इलाम सम्पूर्ण प्रजातन्त्रवादी नागरिक, नागरिक संघ÷संस्था, राजनीतिक दल लगायत सवैमा हार्दिक अपिल गर्दछौँ ।
  • सुनियोजित रुपमा इलाममा रहेका संघिय सरकार अन्र्तगतका डिभिजन कार्यालयहरु विस्थापित गरी प्रदेश स्तरका सेवा प्रदायक कार्यालयहरु समेत अन्यत्र मात्र स्थापना गरेको ।
  • इलाम जिल्लाका ५ वटा स्थललाई पर्यटकिय गन्तव्यका रुपमा घोषणा गर्दा खलङ्गा स्थापनाको २०० वर्षगाँठ मनाइरहेको र देशकै सवै भन्दा पुरानो (रोपणको १५५ वर्ष पार गरेको) ऐतिहासिक चियाबगान रहेको इलामलाई जानाजानी छुटाएको र पर्यटन सम्वन्धि बजेटसमेत इलाम जिल्लालाई सवै भन्दा कम छुट्याएको ।
  • स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई  तहसनहस पार्ने गरी हुकुमीशैलीमा पजनी (मनोमानी) गर्ने राणाकालिन शैलीको समायोजन विधेयक ल्याएको ।
  • वाइड वडी (ध्ष्मभ दयमथ)  जहाज खरिद प्रकरणमा चार अर्व पंैतीस करोड वढी भ्रष्टचार गरी, भ्रष्टाचारलाई संस्थागत गरेको ।
  • चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई माफियाकरण गर्न उद्धत रहेको ।
  • विवादास्पद धर्म प्रचारक संस्था (एशिया प्यासिफिक फेडेरेसन)को सह–आयोजक नेपाल सरकारलाई बनाएर एशिया प्यासिफिक समिटका नाममा कुटनैतिक मर्यादाको धज्जी उडाउँदै प्रधानमन्त्री तीन दिन सम्म विदेशीकासाथ होटलमा वास वसेर अवार्ड ग्रहण गरी धार्मिक विवादमा मुछिएको ।
  • जनकपुरमा भारतिय प्रधानमन्त्रीको अभिनन्दनको अवसरमा भारतिय सेनालाई जनकपुर देखि मुक्तिनाथ सम्म परेड खेलाएर, राष्ट्रको कार्यकारी प्रमुख विदेशी पहिरनमा ठाँटीएर राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको ।
  • राष्ट्रको असंलग्न र तटस्थ परराष्ट्र नीति विपरित असन्तुलित र अमर्यादित क्रियाकलापलाई वढावा दिएर छिमेकीसँगको सम्वन्धमा असन्तुलत पैदा गराएको ।
  • साढे तेत्तीस किलो सुन तस्करी प्रकरणको छानविन प्रक्रियालाई प्रधानमन्त्रीले हस्तक्षेप गरी नियतवस निष्कृय गराएको । 
  • बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा र प्रमाण नष्ट गर्ने दोषीलाई कारबाहीको दायरामा नल्याई बाह्रवर्ष सम्म पनि अपराधि फेला नपर्न  सक्छ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको ।
  • देशैभर हत्या, हिंसा, बलात्कार, तस्करी र भ्रष्टचारका घटनाहरु अकल्पनिय रुपमा बृद्धि भइरहँदा सरकार मुक दर्शक बनेको ।
  • जनताको आयस्तर र कर तिर्न सक्ने क्षमताको ख्यालै नगरी तीन तहका सरकारबाट दोहोरो तेहेरो कर लगाई तथा करमा अप्रत्याशित वृद्धि गरी कर आतङ्क सिर्जना गरेको, महंगी र कालोबजारीलाई पक्षपोषण गरेको ।
  • लोकतन्त्रको प्राण मानिने शक्ति पृथकिकरणका आधारमा सन्तुलन र नियन्त्रण कायम गरिने पद्दती विपरित विभिन्न महत्वपूर्ण निकायलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरी अधिनायकवादी शैलीमा चल्न थालेको ।
  • आर्थिक अनुशासन हिनतालाई प्रश्रय दिई वदनियत पूर्वक पचास अर्व माथीका आयोजनाहरु विना प्रतिस्पर्धा प्रधानमन्त्री आफैले ठेक्का लगाउने गरी आर्थिक ऐन ल्याउने तयारी गरेको ।
  • डाक्टर, उपकुलपति लगायत प्राज्ञिक व्यक्तित्वहरुलाई गुरील्लाशैलीमा अपहरण गरि तानाशाही प्रवृति प्रदर्शन गरेको । 

जय नेपाल !
२०७५ पौष १९
नेपाली कांग्रेस 
जिल्ला कार्य समिति, इलाम

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता