इलाममा लगानी सम्मेलनको तयारी

इलाम, १९ पुसः इलाम नगरपालिकामा  आयोजना हुन लागेको लगानी सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि अतिथिहरूको स्वागत तथा मञ्च व्यवस्थापन देखि सम्मेलनका तयारी गरिएको नगरप्रमुख महेश बस्नेतले बताए ।
जिल्लामा उत्पादन हुने कृषिका कच्चा पदार्थलाई जिल्ला भित्रै प्रशोधन गर्न र रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जनाइएको छ । 
नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ । कृषितर्फ चिया, अदुवा, अलैंची, दूध, जडीबुटीलगायतका क्षेत्रमा दाताहरूलाई सम्भावना देखाउने छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका माध्यमबाट, यसक्षेत्रमा उद्योगधन्दा स्थापनाकालागि लगानीकर्ताको ध्यानाकर्षण हुने नगरपालिकाको अपेक्षा छ ।
सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहने जनाइएको छ ।
नगरपालिकाले स्वास्थ्यको आवश्यकता, उच्च शिक्षाका लागि जिल्लाबाट बाहिरिने विद्यार्थीको अध्ययनको आवश्यकताको सम्भाव्यता, पहाडी जिल्ला पाँचथर, ताप्लेजुङबाट अध्ययनकालागि इलाम आउने विद्यार्थीका लागि आवश्यक र व्यवसायिक शिक्षाको सम्भाव्यता तथा पर्यटन क्षेत्रमा इलाम भित्रने पर्यटक र पर्यटन पूर्वाधार तथा विकासमा जोड दिइने नगरपालिकाले जनाएको छ ।
यसबाहेक कृषिमा विशेष लगानी आवश्यकता महशुस गरिएको बस्नेतको भनाइ छ ।
नगरपालिकाले इलाम नगरक्षेत्रमा मात्र नभएर जिल्लाका दशवटै स्थानीय तहका सम्भावित क्षेत्रमा उद्योग स्थापना गराउन र लगानी गराउन अन्य स्थानीय तहसँग पनि समन्वय गरिरहेको जनाइएको छ । 
सम्मेलनको अन्तिम तयारी हुँदै गर्दा प्रधानमन्त्री तथा अन्य पाहुनाको स्वागतका लागि विभिन्न साँस्कृतिक झाँकी समेतको तयारी भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता