‘जनयुद्ध’का पहिलो सहिदको सम्मान गर्दागर्दै इलामको फाकफोकथुमबाट विप्लवका पाँच कार्यकर्ता पक्राउ

इलाम, १५ फागुनः  इलामको फाकफोकथुम गाउँपालिका–५ को छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द  (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्ता पक्राउ गरेको छ ।
केही दिनयता विभिन्न ठाउँमा भएका विस्फोटको जिम्मा विप्लव नेतृत्वको पार्टीले लिएसँगै सरकारले पनि उनीहरुमाथि निगरानी बढाएको हो ।
मंगलबार दिउँसो सहिद परिवारलाई सम्मान गर्न भन्दै आयोजना गरिएको एक कार्यक्रमबाट विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् । नेकपाका इलाम सेक्रेटरी दिपेन राईका अनुसार प्रहरीले ‘जनयुद्ध’को पहिलो सहिदलाई सम्मान गरिरहँदा नियन्त्रणमा लिएको हो ।
प्रहरीले इलामका जिल्ला कमिटी सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बूलाई पक्राउ गरेको हो ।
२०५२ सालमा सुक्षाकर्मीको गोली लागेर मृत्यु भएका दीलबहादुर रम्तेलको सम्झनामा विप्लव समूहले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ । तर विद्यालयको मैदानमा भइरहेको कार्यक्रम रोकेर प्रहरीले पक्राउ गरेको राईले बताए । जिल्ला प्रहरी कार्यालय इलामले उनीहरुलाई सदरमुकाम ल्याउँदै गरेको बताइएको छ । अन्नपूण पोष्टबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता