पप्पु कन्ट्रक्सनको अर्को बदमासी : झापामा ३४ करोड लागतको कन्काई पुल पनि अलपत्र

झापा, माघ २५ । हुलाकी राजमार्ग अन्र्तगत पर्ने झापाको कन्काई नदीमा निर्माणाधीन पुल ४ बर्षमा पूरा गर्नुपर्ने हो । तर सम्झौता भएको ७ बर्ष बितिसक्दा पनि निर्माण कार्य अझै सम्पन्न भएको छैन । पटक—पटक ताकेता र म्याद थप गर्दा समेत अहिले निर्माणको काम अलपत्र जस्तै बन्न पुगेको छ ।

वीरगञ्जको पप्पु कन्स्ट्रक्सनले पुल निर्माणका लागि २०६८ सालमा भ्याट सहित ३४ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ७ सय २४ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । पप्पुको पाटर्नर कम्पनी महादेव खिम्तीले यस बर्षबाट काम गर्ने भनिए पनि हालसम्म काम अघि नबढ्दा स्थानीय बासिन्दाले पुल नबन्ने होकी भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार पटक—पटक पत्रचार गर्दा समेत पुल निर्माणको जिम्मा पाएको पप्पु निर्माण कम्पनीले काम थालेको छैन ।

कन्काई पुल मात्रै होइन, राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक अन्तर्गत झापामा पर्ने आधा दर्जनभन्दा बढी पुल निर्माण व्यवसायीको लापरबाहीका कारण तोकिएको म्याद सकिएको वर्षौंसम्म पनि निर्माण हुन सकेको छैन । समयमै पुल निर्माण नहुँदा दक्षिणी झापाका बासिन्दा बर्षौैंदेखि नदीमा जोखिमपूर्ण र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
कन्काई पुल जस्तै झापामा मात्र हुलाकी सडकखण्डमा १८ वटा सानाठूला पुल निर्माण गर्नुपर्ने छ । जस मध्ये १५ वटा पुल निर्माणाधीन अवस्थामा छन् । तर निर्माणाधीन पुलहरु समयमा बन्न नसक्दा स्थानीय भने बर्षौंदेखी सास्ती खेप्न बाध्य छन् । ‘पुल बनाउन थालेको पनि धेरै भयो, तर अझै पुरा भएको छैन’ झापा गाउँपालिकाका रेनुका सञ्जेलले भनिन्, ‘बर्खामा त अत्यन्तै गाह्रो हुन्छ ।’
निर्माण व्यवसायीले समयमा काम नगर्ने र सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा तीन—चार वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका अन्य पुलको हालत पनि उस्तै छ । हुलाकी सडक अन्र्तगतकै बिरिङ, सानो माईलगायतका नदीहरुमा बर्षौं अघि सुरु गरिएका पुलको निर्माण समयमै सम्पन्न हुन सकेको छैन । झापा र मोरङको सिमाना रतुवाखोलामा पुल निर्माण भएको १० वर्ष भएपनि अझै सञ्चालनमा आएको छैन ।
खोलाको दायाँ–बायाँ तटबन्ध निर्माण नगरिँदा खोलाको बहाव पुल छाडेर अर्कैतिर बगिरहेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका योजना प्रमुख विजयकुमार महत्तो काम नगर्ने निर्माण व्यवसायीलाई काम लगाउन पटकपटक ताकेता गरिएको र नियमअनुसार कारवाहीको प्रक्रिया पनि अघि बढाइएको दाबी गर्छन् । न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता