तेस्राे मुलुक लैजान लागिएका १४७ महिलासहित ३२ पुरुषकाे उद्धार : काँकडभिट्टा नाका हुँदै नेपाल फर्काइयो

झापा । मानव बेचबिखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएकाे छ । उनीहरुलाई गरेर मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल फर्काइएको छ ।
नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई)लगायत तेस्राे मुलक लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।
मणिपुरबाट म्यान्मा हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकरभिट्टाबाट नेपाल फर्काएको हो ।
उद्धार गरिएकामध्ये १४७ महिला र ३२ पुरुष छन् । उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र त्यहाँबाट आठ वटा बसमा राखेर मंगलबार पूर्वीनाका काँकडभिट्टा ल्याई र्पुयाइएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताउनुभयो ।
काँकडभिट्टाबाट ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँ लगिँदैछ । उद्धार गरिएकालाई काठमाडौँका विभिन्न पुनर्स्थापना केन्द्रमा राखिने र घटनाबारे थप अनुसन्धान गरी संलग्नलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो ।
उद्धारमा माइती नेपाल, भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको सरकारी अधिकारीहरुले बताएका छन् । न्युज २४ बाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता