झापा गोल्डकपः मोरङलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

झापा, १९ फागुनः चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो । 
यसैबीच, ४५+९ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक हेड गर्दा बलले पोष्टको दिशा लिएको थियो । सोही गोलले नै एपिएफका लागि अघिल्लो चरण प्रवेशको लागि ढोका खोलेको थियो । 
२४ औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए । 
खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ । 
खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए । 
पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दवाव दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए । उनले मोरङको टीम कलेक्सन भएकाले वपनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्विकार गरेका छन् । 
हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता