प्रधानमन्त्री ओली दुईदिने भ्रमणमा झापा र मोरङमा, यस्ता छन् कार्यक्रम

इलाम, १७ चैतः प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने झापा र मोरङ भ्रमणमा जाँदै हुनुहुन्छ । जिल्लाहरुमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ जाँदै हुनुहन्छ।
दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उहाँले आजै अपराह्न आयोजना हुने दमक नगरपालिका परिसरमा प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्नुहुनेछ । उहाँले भोलि बिहान दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा र दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम रहेछ । 
साथै भोलि दिउँसो भारतीय राजदूतावासले बनाइदिएको गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा पनि उहाँको सहभागिता रहनेछ । यी सबै कार्यक्रम सकेर भोलि नै प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता