फरक व्यवसायमा लगानी

  • मनिषा चम्लागाईँ

झापा, १० वैशाखः नयाँ वर्षसँगै झापामा फरकपन झल्कने नयाँ व्यवसाय सुरु भए । पृथक सन्देश दिने उद्देश्यका साथ उक्त व्यवसाय खोलिएका हुन् । केटाकेटीदेखि बृद्धबृद्धासम्म रमाउन सक्ने, बालबालिकालाई मनोरञ्जनसँगै ट्राफिक ज्ञान दिन सकने व्यवसाय सञ्चालनमा ल्याउनु नयाँ वर्षसँगै व्यवसायमा आएको नयाँ पन हो । नयाँ वर्षको अवसरमा साझेदारीमा व्यवसाय सुरु गर्नुेले पनि व्यवसायमा पृथकता थपेको छ ।                   
केटाकेटीदेखि बृद्धबृद्धासम्म रमाउन सक्ने 
बिर्तामोडका युवा व्यवसायी शरद जोशी, प्रनिल धिमाल, टेकेन्द्र अग्रवालले नयाँ वर्षको अवसरमा स्वदेशमा व्यवसायीक लगानी गर्ने योजना बनाए । उनीहरुले बिर्तामोडमा औपचारीक रुपमा “गेम जोन” सञ्चालनमा ल्याए । जहाँ खेलका माध्यमबाट बालबालिकादेखि बुद्धबृद्धासम्मले मनोरञ्जन लिन सक्छन् । गेम जोनमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकाले खेल खेल्न सक्ने सञ्चालक घिमालले बताए ।  व्यस्त अभिभावकले दिनभर बालबालिका गेम जोनमा लगेर छोड्न सक्ने वातावरणा पनि सिर्जना भएको छ । जोशी, घिमाल, अग्रवाल विगत १ दशकदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् । अन्य व्यवसायमा रहेको अनुभव गेम जोनमा लगाउन सामूहिक लगानी गरेको उनीहरु सुनाउँछन् । 
गेम जोनमा उनीहरुले दुई जनालाई रोजगारीसमेत दिएका छन् । ३ करोड  ५० लाख बढी लगानी गरिएको व्यवसाय बालबच्चालाई लक्षित गरेर खोलिएको सञ्चालक बताउँछन् । पूर्वमा नै पहिलो पटक अत्याधुनिक खेलका सामाग्री भित्र्याउनु सञ्चालकको नयाँ सोच हो । 

चाइनाबाट सामाग्री ल्याएर आफ्नै ठाउँमा ठूलो लगानीमा सुविधा सम्पन्न खेल सेन्टर स्थापना गरिएको दाबी लोकेन्द्र गर्छन् । गेम जोनमा ९ प्रकारका विभिन्न खेलकुदका सामाग्री छन् । बढ्दो जनसंख्यालाई ध्यानमा राखेर खेलकुद र स्वस्थ्यका लागि गेम जोन खोलेको घिमालले बताए । 
जोनमा नोन स्कृन खेल, स्कृन खेल र भर्चुअल रियालिटी खेल रहेका छन् । जहाँ नोन स्कृनमा वास्केट बल, स्यर हक्की, टोव क्लो रहेका छन् । स्कृन खेलमा बाइक रेस, एलेन सट रहेका छन् । सो खले प्रतिव्यक्ति २०० रुपैयाँमा खेल्न सकिन्छ ।  भर्चुअल रियालिटी खेलमा बाइक भिआर, वार भिआर, एग र एग भिआर खेल रहेका छन् । उक्त खेल खेल्न ३५०देखि ६००रुपैयाँसम्म शुल्क लाग्ने सञ्चालक जोशीले बताए । 
सामूहिक लगानीमा पार्क 
यो स्वदेशमा गरिएको सामूहिक लगानीको एउटा उदाहरण हो । झापाकै देवान राई लक्ष्मीमाया नेम्वाङ, र लोकेन्द्र राईले १ करोड ७५ लाख रुपैयाँँको लगानी दामासायी रुपमा गरे । उनीहरु मिलेर सामूहिक लगानीमा झापाको कमलगाउँपालिका –६मा स्माइल फन पार्क खोले । देवान भारतीय सैनिक हुन् । लक्ष्मीमाया वैदेशिक रोजगारमा इजरायल बसेर आएकी हुन् भने, लोकेन्द्र कोरीयाबाट आएका हुन् ।
विदेशमा कमाएको पैसा नेपालमा नै लगानी गरेर व्यवसायीक बन्ने लक्ष्यका साथ व्यवसाय सुरु गरेको देवान बताउँछन् । लगानीका लागि सोच चाहिने देवानको भनाइ छ । कमलगाउँपालिकामा उनीहरुले त्यही मान्यता स्थापित गर्ने सोच बनाए र पार्क खोले । २ विद्या १ कठ्ठा क्षेत्रफलमा खोलिएको उक्त पार्क शान्त वातवरणमा अवस्थित छ । पार्कको आसपास १० कठ्ठा क्षेत्रफलमा कदम र मसलाका बोट विरुवा छन् । जंगलको बीच भागमा पर्ने पार्कमा खाने, बस्ने व्यवस्था गरिएको लक्ष्मीमायाले बताइन् । परीवारका सबै सदस्य एकसाथ आएर पार्कमा बस्न, खान र रमाउन सक्ने उनी बताउँछिन् । पार्कमा खेलका विभिन्न सामग्री, स्वीमिङ पुल, बोटिङ गर्ने पोखरी रहेका छन् । 
पार्कमा १० जनालाई रोजगारी दिइएको छ । नयाँ वर्षको अवसर पारेर खोलिएको पार्कमा बालबालिकाले ट्राफिक ज्ञानसमेत सिक्न पाउने छन् । यो नै पार्कको फरक पन हो । पार्क भित्र रुट नै बनाएर ट्राफिक संकेत बुझाउने चिन्ह राखिएको छ । जहाँ बालबालिकाले आफैँ साइकल, गाडी कुदाएर ट्राफिक नियम सिक्न पाउने छन् । पछिल्लो समय ट्राफिक ज्ञान नभएकै कारण दुर्घटना बढ्दै गएकाले मनोरञ्जनसँगै बालबालिकालाई ट्राफिक नियम सिकाउने उद्देश्यका साथ रुट निर्माण गरिएको देवानले बताए । पार्क व्यवस्थापनमा तीनै जना लगानीकर्ताका परिवारका सदस्य खटिएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता