नागरिकता नपाएपछि विराटनगरमा चक्काजाम र नाराबाजी

विराटनगर, २६ चैतः जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्नुका साथै कोशी राजमार्गमा केही बेर चक्काजाम गरेका छन् । 
जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको जनाएको थियो ।
नागरिकता दिने प्रक्रिया रोकिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका सेवाग्राहीहरुले भट्टी मोडमा केही बेर चक्का जाम गरेका थिए । 
गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबैजनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
निर्देशन आएलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागू गरेर नागरिकता वितरण प्रक्रिया थालेको थियो । न्युज २४ बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता