
काठमाडाैं । चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्स नचल्ने भएको छ । ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि विदेशि कम्पनीहरू अमेरिकी सुरक्षाका लागि खतराको रुपमा औल्याएपछि गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा अपडेट गर्न नमिल्ने भएपछि चीनबाहिरका हुवावे प्रयोगकर्तालाई समस्या हुने देखिएको छ। अहिलेका हुवावेका प्रयोगकर्ताले भने गुगल प्ले, जिमेल, म्याप, युट्युब लगायत सबै एप प्रयोग गर्न पाउने छन्। तर त्यसमा नयाँ र सुरक्षा अपडेट भने गर्न मिल्ने छैन । गुगलकाे पछिल्लाे निर्णयबारे हुवावेले कुनै प्रतिक्रिया दिएको छैन।
हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम रहने छ । यो निर्णयबाट हुवावेका प्रयोगकर्ता मर्कामा पर्नेछन् भने उसले पश्चिमा देशमा ठूलो व्यापार घाटा बेहोर्नुपर्नेछ । पुराना सेटमा भने सबै सेवा यथावत रहने बताइएको छ ।
यो न्यूज तयार पार्दासम्म हुवावेको प्रतिक्रिया आएको छैन । यद्यपि हुवावेका प्रमुख कार्यकारी रेन जेङफेइले शनिबार एक वक्तव्य दिँदै ’कठिन स्थिति आउन सक्नेबारे आफूहरू सचेत रहेको’ बताएका थिए ।
हुवावेले यसअघि टेलिफोन अपरेटिङ सिस्टमको कारोबारमा यस्तै समस्याको सामना गरेको थियो । अमेरिकाले हुवावे कम्पनीले चीनको पक्षमा जासुसी गरेको शंका गरेको छ । हुवावेका प्रमुखले कम्पनीलाई चीन सरकारसँग जोडेर नहेर्न अनुरोध गर्दै हुवावे एक स्वायत्त र स्वतन्त्र संस्था भएको दाबी गरेका छन् ।