सडकमा सुतेर न्यूनतम ज्याला माग्दै चिया मजदुर


झापा । ३८ दिनबाट गिता माझीको घरको चुलामा आगो बले पनि पकाउने पानी बाहेक केहि कुरा छैन । सबैका छोरा–छोरी नयाँ सेक्सनमा नयाँ लुगा लगाएर स्कुल जान्छन् तर, उनको नानीलाई नाम लेखाउने पैसा नभएकाले स्कुल पठाउन सकेकी छैनन् । झापाकै एक चिया बगानमा दैनिक ज्याला मजदुरी गरेरे गुजारा चलाउने माझीको परिवार अहिले भोक भोकै बस्न बाध्य छ । राजपत्रमा उल्लेख भएअनुसा ज्याला पाउनु पर्ने भन्दै ३८ दिनबाट आन्दोलीत पूर्वी नेपालका चिया मजदुरको आन्दोलनबाट माझिको परिवार पनि अछुतो रहन सकेन ।

कन्यामको चिसोमा चियाका बुट्टाहरुसँग लुकामारी गर्दै परिवार चलाई रहेकी मैया तामाङ्ग झापा बिर्तामोडको तातो घाममा न्युनतम पारिश्रमिक माग गर्दै सडकमा नारा लगाइ रहेकी थिइन् । उनी पानि मात्र खाएर भए पनि सरकाले तोकेको पारिश्रमिक लिनका लागि लड्ने बताउँछिन् । माझी र तामाङ्ग जस्तै पूर्वका हजारौँ चिया मजदुर गत चैत १७ गतेदेखि काम छोडेर भोक–भोकै आन्दोलनमा छन् ।


श्रम कानुनसम्मत ज्याला पाउनु पर्ने माग गरिरहेका उनीहरुको आवाज न सरकारले सुनेको छ, न चिया बगान र उद्योगका मालिकहरुले नै । जसका कारण बालबच्चा पढाउन र दैनिक छाँक टार्न समस्या परिरहे पनि उनीहरु वैशाखको टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै सडकमै उत्रिएका छन् ।

राजपत्रमा उल्लेख भएअनुसार ज्याला नएपाको भन्दै पूर्वका चिया मजदुर लामो समयदेखि आन्दोलित छन् । गत चैत १७ गतेदेखि चिया बगान, उद्योग तथा प्रतिष्ठानको काम छोडेर चरणबद्ध आन्दोलनमा उत्रिए पनि ३८ दिन बितिसक्दा समेत उनिहरुको माग सम्बोधन भएको छैन । झापामा करिब २६ चिया प्रशोधन उद्योग र ७० भन्दा बढीको संख्यामा बगान छन् । बगानमा करिब ३६ हजारको हाराहारीमा चिया श्रमिक काम गर्छन् । यी बगानका श्रमिकहरू काम नै ठप्प पारेर आन्दोलनमा होमिएका छन् ।


सरकारले गत साउन १ देखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोके पनि श्रमिकले २ सय ६५ रुपैयाँ मात्र पाउँदै आएका छन् । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार ४ सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार ३ सय ८१ रुपैयाँ तोकिएको छ । तर, कुनै प्रावधान पनि कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउनु पर्ने माग अखिल नेपाल चिया मजदुर संगठनका अध्यक्ष सीता सापकोटाको छ ।

यता, चिया उद्योगी भने चिया क्षेत्रमा उत्पन्न श्रम समस्याको व्यावहारिक समाधान खोज्न सरकार उदासिन भएको जिकिर गर्छन् । सरकारले तोकेको ज्याला दिँदा लागत बढ्ने र व्यवसाय घाटामा जाने भएकाले श्रमिकलाई सरकारले तोके जति ज्याला दिन नसकिने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार मित्तल बताउँछन् । चियाको पहिलो मुना (फस्ट फ्लस) टिप्ने सिजनमा आन्दोलन भएपछि चिया उद्योगमा एक महिनाभित्र ५० करोड बढीको क्षति भइसकेको चिया उद्योगीहरु बताउँछन् । पूर्वको झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका दर्जन जिल्लामा सञ्चालित चिया बगान र कारखानामा ५० हजार भन्दा बढी मजदुरहरु कार्यरत छन् । नेपाल चिया बिकास बोर्डको तथ्याङ्क अनुुसार २८ हजार पाँच सय ९५ हेक्टर क्षेत्रफलमा चियाखेती हुुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता