झापाका हरि, अस्मिता र मीन नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक

  • नमीन ढकाल 

 मङ्ल, जेष्ठ २८, २०७६

इलाम । झापाका हरि खडका, अस्मिता खवास र मिन बस्नेतले नेपालको विभिन्न उमेर समूहको राष्ट्रिय टोली सम्हाल्ने भएका छन । एन्फाले मंगलबार घोषणा गरे अनुसार झापा चन्द्रगढीका खडका महिला सिनियर टिमको मुख्य प्रशिक्षक चयन भएका छन् । उनी ओलम्पिक छनौट अघिबाट महिला टिमको मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । खड्काले ६० काे दशकमा नेपाली पुरुष टिमलार्इ समेत कप्तानी गरेका छन् । उनले ४१ क्याप जित्दै १३ अन्तराष्ट्रिय गाेल समेत गरेका छन् ।
त्यसैगरी यु–१९ महिला टिमकी गोलरक्षक प्रशिक्षक रहेकी मेचीनगर नगरपालिकाकी अस्मिता पहिलो पटक सिनियर टिमको  गाेलरक्षक प्रशिक्षक नियुक्त भएकी हुन । यसअघि मृगेन्द्र मिश्रले गोलरक्षकलाई प्रशिक्षण दिइरहेका थिए । तर मिश्र पुरुष टिमको गोलकिपर प्रशिक्षक भएपछि अस्मिताले मौका पाएकी हुन । अस्मिता सन २०१६-१७ काे चाैथाे साफमा सहायक प्रशिक्षक थिइन । उनले ६० काे दशकमा नेपाली महिला राष्ट्रिय टाेलीकाे गाेलपाेष्ट सम्हालेकी थिइन् ।  मेचीनगरका मीन बस्नेतले यु–१५ महिला टिमको गोलरक्षकलाई प्रशिक्षण दिनेछन । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष बस्नेतले ६० को दशकमा नेपालका विभिन्न ए डिभिजन क्लबको गोलपोष्ट सम्हालिसकेका छन ।
क–कस्ले दिनेछन उमेर समुह र ७ प्रदेशमा प्रशिक्षण
एन्फाले दक्षिण एसियाली खेलकुद (साग) टिम, यू–१६, यू–१८, यू–१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाले नेपालमा आयोजना हुने सागको पुरुष टिमको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन, सहायक प्रशिक्षक राजेश मानन्धर र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई चयन गरेको छ ।
साग टिम महिलाको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवासलाई चयन गरेको छ । यू–१६ को पुरुषको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायकमा राजकुमार केसी, गोलकिपरमा बिनोद डंगोल चयन हुँदा यू–१८ पुरुषको मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलकिपरमा छन्नु राम चौधरी चयन भएका छन ।  यू–१५ महिलाको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायकमा भगवती थापा, गोलकिपरमा मिन बस्नेत रहेका छन ।
यस्तै बुटवल एकेडमीका लागि मुख्य प्रशिक्षकमा हरि ओम श्रेष्ठ, सहायकमा पुकार गहतराज र गोलकिपरमा दिलिप छत्री चयन भए । धरान एकेडमी र प्रदेश १ को मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन । त्यस्तै प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, प्रदेश ४ मा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी, प्रदेश ६ र ७ मा दिपेश योञ्जन चयन भएका छन ।
लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता