नेपालमा साइवर अपराधको अवस्था

  • मोहनकुमार थापा

विज्ञान तथा प्रविधिको विकास सँगसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोगबाट गरिने अपराधको संख्यामा व्यापक रुपमा वृद्धि भइरहेको छ । साइवर सम्बन्धी अपराधको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको भएता पनि यस सम्बन्धी मुद्दा चलाउने निकाय काठमाडौँ जिल्ला अदालतलाई मात्र तोकिएको हुनाले महानगरीय प्रहरी परिसर काठमाडौँमा अन्य जिल्लामा घटित अपराधको अनुसन्धानको लागि आउने गरेको छ ।
यस कार्यालयमा फेसबुकको माध्यमबाट अश्लिलता प्रदर्शन गर्ने, फेसबुकको माध्यमबाट गाली–बेइज्जती गर्ने, सामाजिक सञ्जालमा सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुको अपमानजनक तस्वीरहरु सेयर गर्ने, दर्ता नगरेको अनलाइनहरुले कपोलकल्पित समाचारहरु प्रकाशन प्रसारण गरी सामाजिक सद्भावमा खलल पु¥याउने, अश्लिलता प्रदर्शन गरी दिने धम्की दिइ यौनशोषण गर्ने, सामाजिक बेइजति गरी दिने, गोप्य कुरा भंग गरी दिने, महत्वपूर्ण सूचना नष्ट गरी दिने, नक्कली एकाउन्ट खोल्ने, नक्कली वेबसाइट खोल्ने जस्ता अपराधको उजुरी पर्ने गरेको छ ।
जसमा सबैभन्दा बढी सामाजिक सञ्जालको गलत प्रयोग तथा असावधानीबस चलाउँदा विभिन्न अपराधिक क्रियाकलाप भइरहेको पाइन्छ । त्यसैगरी पछिल्लो समयमा हुने हरेक किसिमका अपराधमा समेत साइवर सम्बन्धी अपराध पनि जोडिएर आइरहेको तथा यस सम्बन्धी अनुसन्धान गर्ने दक्ष जनशक्ति तथा उपकरणहरुको अभाव रहने गरेको यथार्थता हाम्रोसामू रहेको छ ।

अपराध स्थापित गर्न अपनाइएका प्रक्रिया तथा विधिहरुः

महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएका साइवर अपराधलाई स्थापित गर्नका लागि केही व्यवहारिक समस्याहरु आएको पाइन्छ । विशेषगरी साइवर अपराध जस्तो प्राविधिक विषयमा काम गर्ने तथा यससँग सम्बन्धित विशेषज्ञ तालिम गरेको जनशक्तिको अभावका बावजुद साइवर अपराध अनुसन्धानमा उपलब्धि हासिल भएको छ ।

अपराधलाई स्थापित गर्नका लागि यथेष्ट प्रमाणको अभाव, देशैभरिको मुद्दा यहीबाट दर्ता हुने भएकोले पीडितको उपलब्धता नहुनु, डिजिटल फरेन्सिक ल्यावबाट समयमै रिपोर्टहरु प्राप्त तथा परीक्षण हुन नसक्दा अपराधसँग सम्बन्धित सबुत प्रमाण लोप नाश हुनु लगायतका कारणले अपराध स्थापित गर्न समस्या भइरहेको अवस्था छ । यद्यपि अपराध स्थापित गर्नका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंले अपनाएका प्रक्रिया तथा विधि यसप्रकार रहेका छन् ।
– पीडित तथा पीडकसँगको बयान,
– अन्य व्यक्तिले दिएको सूचना,
– सामाजिक सञ्जाल तथा अनलाइनहरुको नेटवर्क फरेन्सिकको माध्यमबाट परीक्षण,
– मोबाइल, कम्प्युटर लगायतका उपकरणको परीक्षण ।
यसरी प्राप्त भएको विभिन्न रिपोर्ट तथा अनुसन्धानात्मक अन्तरवार्ताका माध्यमबाट उपलब्ध भएका सूचनाको विश्लेषण गरी अपराधलाई स्थापित गरिँदै आएको छ ।

अनुसन्धान ः
साइवर अपराधको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ । जसले यस सम्बन्धी अपराधहरुको सन्दर्भमा जाहेरी दरखास्त प्राप्त गर्नेदेखि अनुसन्धानका सम्पूर्ण प्रक्रियाहरु पूरा गर्दै आइरहेको अवस्था छ । साइवर अपराध अनुसन्धानका लागि अपनाइएका तरिकाहरु यसप्रकार रहेका छन् ।
– जाहेरी दरखास्त वा उजुरी प्राप्त,
– पीडितसँग सोधपुछ,
– पीडक पक्राउ तथा अन्तरवार्ता,
– अपराधसँग सम्बन्धित दशी प्रमाण बरामद,
– सामाजिक सञ्जाल, अनलाईन तथा सम्बद्ध प्रमाणहरुको वैज्ञानिक परीक्षण,
– अनुसन्धान प्रतिवेदन तयार ।

कानून ः

साइवर अपराधका सम्बन्धमा विभिन्न कसुरमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४४ देखि दफा ५४ मा उल्लेखित कानूनी व्यवस्था बमोजिम कानूनी कारवाहीको मागदावी प्रस्तुत गर्ने, दफा ५६ बमोजिम विद्युतीय सामग्री जफत गर्ने तथा दफा ५८ बमोजिम पीडितलाई क्षतिपूर्तीको मागदाबी समेत गर्ने गरिएको छ । विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को परिच्छेद–९ मा दफा ४४ देखि ५४ सम्म देहाय बमोजिम व्यवस्था गरिएको छ ।
दफा ४४. कम्प्युटर स्रोत संकेतको चोरी,

नष्ट वा परिवर्तन गर्ने ः

प्रचलित कानूनले कम्प्युटर स्रोतको संकेत (सोर्स कोड) लाई यथावत्राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको संकेत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा निजलाई तीन वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि ‘कम्प्युटर स्रोत संकेत’ (कम्प्युटर सोर्स कोड) भन्नाले कम्प्युटर कार्यक्रमहरुको सूचीकरण, कम्प्युटर निर्देशन (कमान्ड), कम्प्युटर डिजाइन र कम्प्युटर लेआउट तथा कम्प्युटर सम्पदाको जुनसुकै स्वरुपमा रहेको कार्यक्रम विश्लेषण (प्रोग्राम एनालिसिस)लाई सम्झनुपर्छ ।

कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँचः कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचनावा तथ्यांकमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएको अवस्थामा पनि अख्तियारी दिइएको भन्दा भिन्न कुनै कार्यक्रम, सूचना वा तथ्यांकमा पहुँच प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गरेमा निजलाई कसूरको गम्भीरता हेरी दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउनेः कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानी–नोक्सानी पु¥याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु¥याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह«ास गराएमा वा हानीकारक प्रभाव पारेमा वा कसैलाई त्यस्तो काम गर्न लगाएमा निजलाई दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्या्दित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।

गोपनीयता भङ्ग गर्ने 

यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु वा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु अन्तर्गत प्रदान गरिएको कुनै अधिकार बमोजिम कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरुमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनाधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

झुट्टा व्यहोराको सूचना दिने :

कुनै व्यक्तिले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणीकरण गर्ने निकाय समक्ष पेश गर्ने कुनै व्यहोरा जानी–जानी लुकाएमा वा ढाँटेमा वा जाना–जानी झुट्टा व्यहोरा पेश वा दाखिला गरेमा निजलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुईवर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउनेः (१) यो ऐन बमोजिम नियन्त्रकले जारी गरेको इजाजतपत्र प्राप्त नगरी प्रमाणीकरण गर्ने निकायको रुपमा कार्य गर्ने कुनै पनि व्यक्तिलाई कसूरको गम्भीरता हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) कुनै व्यक्तिले आपूmलाई प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त नभई त्यस्तो इजाजत पत्र प्राप्त भएको छ भनी झुट्टा व्यहोरा वा झुट्टा इजाजत पत्र प्रकाशन गरेमा वा कुनै व्यक्तिलाई अन्य कुनै व्यहोराले उपलब्ध गराएमा निजलाई निजले उपदफा (१) बमोजिमको कुनै कार्य गरी नसकेको अवस्थामा एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

(३) कुनै व्यक्तिले प्रमाणपत्रमा उल्लेख भएको प्रमाणीकरण गर्ने निकायले सो प्रमाणपत्र जारी गरेको होइन वा सो प्रमाणपत्रमा सूचीकृत गरिएको ग्राहकले सो प्रमाणपत्र स्वीकार गरेको छैन वासो प्रमाणपत्रनिलम्बन वा रद्द भइसकेको छ भन्ने जानी–जानी त्यस्तो प्रमाणपत्रको प्रकाशन गरेमा वा अन्य कुनै व्यक्तिलाई कुनै व्यहोराले उपलब्ध गराएमा निजलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । तर, निलम्बन वा रद्द भइसकेको प्रमाणपत्रलाई त्यसरी रद्द वा निलम्बन हुनु अगाडि गरिएको डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने प्रयोजनको लागि प्रकाशन गरिएको वा उपलब्ध गराइएकोमा यस उपदफा बमोजिमको कसूर गरेको मानिने छैन ।

तोकिएको विवरण वा कागजात दाखिला नगर्ने :

(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम नियन्त्रक वा प्रमाणीकरण गर्ने निकाय समक्ष कुनै विवरण, कागजात वा प्रतिवेदन दाखिला गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले तोकिएको म्यादभित्र त्यस्तो विवरण, कागजात वा प्रतिवेदन दाखिला नगरेमा निजलाई ५० हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम रीतपूर्वक सुरक्षित साथ राख्नुपर्ने कुनै किताब, रजिष्टर, श्रेस्ता, लेखा आदि सुरक्षित तथा रीतपूर्वक नराख्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

कम्प्युटर जालसाजी गर्नेः कुनै व्यक्तिले कुनै जालसाजी गर्ने वा अन्य कुनै गैरकानूनी कार्य गर्ने उद्देश्यले डिजिटल हस्ताक्षर प्रमाणपत्र सृजना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स), कुनै आपूर्ति रभण्डार (इन्भेण्टरी) वा जुनसुकै बखत भुक्तानी दिने कार्ड (एटीएम कार्ड)मा मिलोमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरी लाभ उठाएमा त्यसरी उठाएको आर्थिक लाभको बिगो कायम गरी सम्बन्धित पक्षलाई कसूर गर्नेबाट भराई त्यस्ता कसूरदारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।
कम्प्युटर सम्बन्धी कसूर गर्न दुरुत्साहनः यस ऐन बमोजिमको कुनै कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने वा त्यस्तो कसूर गर्न उद्योग गर्ने वा षड्यन्त्रमा सामेल हुने व्यक्तिलाई कसूरको मात्रा हेरी ५० हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दबै सजाय हुनेछ ।
५४. मतियारलाई सजाय 
यस ऐन बमोजिमका कुनै कसूर गर्न सघाउने वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई भएको सजायको आधा सजाय हुनेछ ।
समन्वयः साइवर अपराधको अनुसन्धानलाई प्रभावकारी एवम् सफल तुल्याउनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न निकायसँग समन्वय गर्दै आइरहेको छ, जस मध्ये नियमित रुपमा समन्वय हुने निकायहरु देहाय बमोजिम रहेका छन् ।
– जिल्ला सरकारी वकिल कार्यालय,
– जिल्ला अदालत,
– नेपाल टेलिकम,
– डिजिटल फरेन्सिक ल्याव, प्र.प्र.का. अ.अ. विभाग,
– इन्टरनेट सेवा प्रदायक संस्थाहरु आदि ।
(थापा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक हुन् )
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता