आगूऔषध र हातहतियारसहित तीन लुटेराको समूह प्रहरीको फन्दामा

सुनसरी, १२ असार । धरान आसपासका क्षेत्रमा सक्रिय रहेको लुटेरा समूहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । धरान प्रहरीले २ थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने गोली तथा एसएलआरमा लाग्ने गोली सहित ३ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरान र प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीले सुराकीका आधारमा धरानमा विभिन्न स्थानबाट हतियारसहित तीन जनालाई प्रक्राउ गरिएको हो । प्रहरीले धरान–१५ बाट एक जना र धरान–११ बाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धरान–१५ का ३९ बर्षीय सरोज गुरुङ र धरान–११ बाट भोजपुरको आमचोक गाउपालिका–६ का २९ बर्षीय विजय राई र भोजपुरकै हतुवागढी गाउँपालिका–२ घर भएका सुरेश राई रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध, मुखुण्डो, खुकुरी, लागूऔषध जोख्ने डिजिटल काटालगायत विभिन्न सामग्रीलाई पनि प्रहरीले बरामद गरेको छ । विषेश सूचनाका आधारमा प्रहरीले सुरुमा धरान–१५ स्थित सरोज गुरुङको घरमा सर्च गरेको थियो ।
सरोज गुरुङको कोठामा लागूऔषध डाइलेक्स फेला मात्र फेला परेको बताउदै सुनरीका एसपी यज्ञविनोद पोख्रलले उनलाई सोधपुछ गर्दा घर पछाडि फोहोर फाल्ने ठाउँमा रातो झोलामा २ थान पेस्तोल भेटिएको एसपी पोखरेलले जानकारी दिए । जसमध्ये एउटा म्यागजिन भने लोड भएको पनि थियो ।
त्यस्तै, उनकोे घरबाट १० थान पेस्तोलको गोली र एसएलआरमा प्रयोग हुने ५ थान गोली भेटिएको थियो । गुरुङकै बयानको आधारमा धरान–११ बाट सुरेश राई र विजय राईलाई एसएलआरमा प्रयोग हुने ९ थान गोली, लागूऔषध खैरो हिरोइनजस्तो देखिने सानो टिनको बाकसभित्र स–साना पोका बनाएको १० थान, धारिलो खुकुरी २ थान र फलामको नक एक थान फेला परेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
साथै उनीहरुको कोठाबाट मुखुण्डो ३ थान, नगद १५ हजार १ सय ३५ र डायसको गोटी पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले तीनै जनाले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको एसपी पोख्रेलले बताए ।
उनीहरु तीनै जनाको एक अर्कासँग कनेक्सन भएको र लामो समयदेखि सर्वसाधारणलाई धम्क्याएर लुट्ने गरेको आशंका प्रहरीले गरेको छ । एक महिना अगाडि साउनेमा एक बैंक कर्मचारीमाथि भएको गोली प्रहारमासमेत उनीहरुको संलग्न हुनसक्ने प्रहरीले भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता