एसइई पछिको छनौट : कुन विषय, कहाँ, किन र कसरी पढ्ने ?


  • डिल्लीप्रसाद अधिकारी

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएपछि विद्यार्थी तथा अभिभावकमा उच्च शिक्षा अध्ययनका लागि कुन विषय, कहाँ, किन, कसरी कहिले पढ्ने भन्ने चासो र चिन्ता बढ्दै जानु स्वाभाविक नै हो । विद्यालयीय शिक्षाको परिवर्तित संरचनाअनुसार कक्षा १२ सम्मलाई माध्यमिक तह मानिए पनि एसइईपछि विद्यार्थीको भाग्य र भविष्यको मार्ग दर्शन गर्न अध्ययन गरिने विषय र शिक्षण संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुँदा छनौटमा सचेत र सावधानी हुन आवश्यक छ ।
आफ्नो योग्यता र क्षमताका आधारमा भन्दा कसैको लहैलहैमा लागेर, परिवार तथा आफन्तको करकापमा अनि भम्रक विज्ञापनका पछि लागेर गरिने विषय छनौटले समय र लगानीको वर्वादी गरी पछुताउनु पर्ने अवस्था सिर्जना हुन सक्छ । यसका लागि सरोकारवाला र राज्यले पनि समयमै ध्यान दिन आवश्यक देखिन्छ ।
अहिलेको बढ्दो प्रतिस्पर्धा भएको समयमा हरेक क्षेत्रमा अवसर र चुनौती दुवै थपिँदै गएका छन् । प्रतिस्पर्धात्मक श्रमबजारमा आफूलाई अब्बल बनाउन समयमै बजारमा बिक्न सक्ने विषयको छनौट गर्नु अहिलेको आवश्यकता र माग दुवै हो ।

कुन विषय, कहाँ, किन र कसरी पढ्ने ?

कुन विषय, कहाँ, किन र कसरी पढ्ने ? भन्ने विषयमा शैक्षिक विज्ञ, अभिभावक, शिक्षक, शैक्षिक संस्था सञ्चालक एवम् राज्यले समेत विभिन्न तरिकाबाट बहस, सल्लाह र सुझाव प्रदान गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । एउटा असल मार्गदर्शन र अभिभावकत्व नपाएर कुनै पनि विद्यार्थीलाई आफ्नो शैक्षिक यात्रामा ठेस पुग्नु हुँदैन ।

विद्यार्थीहरूले पनि आफूले कक्षा १ देखि १० सम्म अध्ययन गरेर प्राप्त गरेको ज्ञान, क्षमता रुचिलाई ध्यान दिँदै उच्च शिक्षाको विषय छनौट गर्नु पर्छ । कुनै पनि विषय साना र ठूला हुँदैनन् । आफूले अध्ययन गर्ने विषयमा सतही ज्ञान लिएर मात्र हुँदैन आफ्नो विषय र क्षेत्रमा विशेष विशेषज्ञता प्राप्त गर्न सकेमा मात्र इच्छित सफलता प्राप्त हुन सक्छ । आफूले पढ्ने विषय छनौट गर्दा विषय प्रतिको आफ्नो रुचि, योग्यता, क्षमता तथा शैक्षिक संस्थाको साधन, स्रोत, भौतिक दक्ष तथा योग्य शिक्षकको उपलब्धतामा ध्यान दिनुपर्छ ।

विज्ञापन र सूचनाका आधारमा मात्र शिक्षण संस्था छनौट गर्नुहुँदैन

विद्यार्थीहरूलाई आफूतर्फ आकर्षक गर्नका लागि मात्र तयार पारिएका ब्रोसर, विज्ञापन र सूचनाका आधारमा मात्र शिक्षण संस्था छनौटका आधार बन्नु हुँदैन । त्यो शैक्षिक संस्थाको ऐतिहासिक पृष्ठभूमि, दिगोपन, निरन्तरता, व्यवस्थापनको स्तर, मानवीय सुसम्बन्ध, भौतिक संरचना, फराकिलो विद्यालयीय क्षेत्र, पानी, बिजुली, शौचालय, सरसफाई आदिको अवस्था कस्तो छ ? भन्ने स्थलगत अवलोकन गर्नुपर्छ ।

आफूले पढ्ने विषयको पढ्ने समयावधि कति हो ? त्यसका लागि कति आर्थिक लगानी गर्नु पर्छ ? आफ्नो क्षमता अनुसार छ कि छैन ? अध्ययन पश्चात् यसको अवस्था कस्तो हुन्छ ? आदि विविध पक्षमा विचार विमर्श गरेर मात्र निष्कर्षमा पुग्नु सान्दर्भिक हुन्छ ।

एसइईमा प्राप्त गरेको उच्च अङ्क र आफ्ना अभिभावकहरूको करकाप अनि अल्लारे उमेरका साथीभाइको लहैललहैमा लागेर छनौट गरिएका विषयले भने पछि पढ्दा पढ्दै त्यो विषय प्रति आफ्नो रुचि हट्न सक्छ र सोचे जस्तो सफलता पनि प्राप्त हुँदैन स्वयम् विद्यार्थीमा पनि शारीरिक र मानसिक विचलनहरू देखा पर्दै जान्छन् । परिणामस्वरूप विद्यार्थीले बिचैमा पढाइ छाड्ने, डिप्रेसनको सिकार हुने, अनि आत्महअत्याको बाटो रोज्ने गरेका प्रशस्त उदाहरणहरू हामीले पढ्दै र सुन्दै आएका छौँ । त्यसैले विद्यार्थीको भावनाको कदर गर्नु उसको क्षमताको विषयमा उसलाई कक्षा १० सम्म अध्ययन गराउने शैक्षिक संस्था, शिक्षक, शिक्षिकाहरूबाट जानकारी लिनु शिक्षा चेतनाको पर्छ ।

समयमै सचेत बन्न आवश्यक

शिक्षा चेतनाको मुहान र ज्ञानको ज्योति अनि भविष्यको निर्धारक भएकाले समयमै सबैले सचेत बन्न आवश्यक छ । शैक्षिक संस्थाहरूले पनि आफ्नो हैसियत, जनशक्तिको विषयमा इमानदार भई जानकारी प्रदान गर्नुपर्छ । राज्यको नीति, नियम, कानुनको परिधिमा रहेर दूरगामी सोचका साथमा सञ्चालन गरिने शैक्षिक संस्था नै प्रसिद्ध हुँदै जान्छन् ।

देश विकासको प्रमुख मेरुदण्ड भनेकै राज्यका नागरिकहरूको शैक्षिक स्थिति र मानव संसाधन विकासको अवस्था हो । यसमा कुनै पनि कमी कमजोरी भएमा व्यक्तिलाई मात्र होइन राज्यलाई समेत दूरगामी प्रभाव पर्ने निश्चित छ । यस्तो प्रभावलाई हटाउन व्यवस्थापकहरूले शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको आस्था र विश्वासलाई जित्न आवश्यक देखिन्छ ।

विद्यार्थीहरूले पनि आफ्नो लागि आफैँ भन्ने योजनाका साथमा समसामयिक विषय तथा घटनाहरूमा सुसूचित बन्दै जानुपर्छ । विभिन्न पत्र पत्रिकाहरूका सूचना तथा लेखहरूको अध्ययन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रदान गरिने छात्रवृत्ति तथा सुविधाहरूलाई ख्याल गर्दै आफ्नो भाग्य र भविष्यको निर्माणमा जुट्नु पर्छ । यो नै वर्तमानको आवश्यकता र माग दुवै हो ।

(लेखक कोशी सेन्ट जेम्स उच्च माध्यमिक विद्यालय र नर्थ पाेइन्ट उच्च माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ)

न्युज२४ बाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता