एनसीसी जर्मनीको अध्यक्षमा चारजनाको उमेद्वारी घोषणा, हरि न्यौपानेको पल्ला भारी

काठमाडौं । कसले बिर्सन सक्छ र… २०७२ सालको विनाशकारी भूकम्प । जुन भूकम्पले नेपालीहरुलाई उठिबास नै बनायो । घरबारविहीन बनायो । हिँउदको समयमा भूकम्प पीडितहरुलाई दुईजोर लुगाफाटो त के, ओत लाग्ने छाप्रो पनि थिएन । हो, त्यतिबेला कष्टकर जीवन बिताउन बाध्य बनेका भूकम्प पीडितको साहारा बन्न आइपुगे, हरि न्यौपाने ।
उनी सामाजिक काममा आफू सँधै अगाडि बढिरहने बताउँछन् । उनी हाल जर्मनीमा बस्छन् । तर उनको मन भने सदैव पीडित नेपालीहरुलाई सहयोग गर्न तत्पर भइरहन्छ । त्यसैले त भूकम्प पीडितका लागि जस्तापाता बोकेर विपतका बेला काभ्रे र सिन्धुपाल्चोकमा खटिएका थिए ।
उनी भन्छन्,–‘नेपालीहरुलाई दुःखमा देख्दा मेरो मन पोल्छ, त्यसैले मेरो जति सामथ्र्य छ म सहयोग गर्न पुग्छु ।’

जर्मनबासी नेपालीहरुलाई पनि सकेजति सहयोग गरिरहन्छन् न्यौपानेले । सँधै काममा लगनशील भइरहने न्यौपानेले सुखदुःखमा साथ दिन्छन् । बेला–बेलामा नेपालीहरुका समस्या के हो ? त्यसबारे सोधखोज गर्छन् र समाधान निकाल्न भरमगदुर प्रयास गर्छन् ।
उनै मनकारी व्यक्ति एनसिसी जर्मनीको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । अध्यक्षका लागि न्यौपाने सहित हालका अध्यक्ष बिजय मोक्तान, रण बहादुर साउदले उम्मेद्धवारी घोषणा गरेका छन् । अध्यक्षका लागि चार जना प्रत्यासीहरु मैदानमा उत्रिएसंगै एनआरएनए जर्मनीको चुनावी सरगर्मी बढेको छ ।

आउँदो सेप्टेम्वर १४ मा जर्मनी एनसिसी निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदान केन्द्र मुनस्टर तोकिसकेको समेत जनाएको छ ।
एनआरएनए जर्मनी एनसिसी अध्यक्षका प्रत्यासी हरि न्यौपानेले सहमति अनुसार अघि बढ्न खोजेको बताएका छन् । उनले भने, ‘सहमति नभए निर्वाचन नै एकमात्र विकल्प रहेको उल्लेख गरे ।’
सेप्टेम्वर २ सम्म सदस्यता लिनेले मात्र निर्वाचनमा भाग लिन पाउने छन् । यता, निर्वाचन मिति नजिकिँदै गर्दा जर्मनी एनसिसी निर्वाचनको सरगर्मी पनि बढेको छ ।
अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् । हरि न्यौपाने, राना बहादुर साउद, विजय मोक्तान र लब थापा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार हुन् । अध्यक्ष पदमा चारजना सम्म उम्मेदवारी दिनुले निर्वाचन पेचिलो हुने देखिएको छ । निर्वाचनको आवश्यक तयारी पूरा भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
निर्वाचनमा होमिदै गर्दा हरि न्यौपानेका काम र अनुभव बारे पनि बुझ्नुपर्ने हुन्छ ।  मनकारी मन बोकेर नेपालीहरुलाई सेवा गर्न अग्रसर भइरहने न्यौपाने एनआरएनए एनसिसी जर्मनी (२०१९–२०२१) को कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी हाल एनआरएनए जर्मनी एनसिसीका वर्तमान उपाध्यक्ष पनि हुन् । उनी स्थानीय समन्वय समितिमा २००६ देखि सक्रिय थिए । २००९–२०११ सम्म एनसिसी सचिव बनेर कुशलतापूर्वक आफ्नो कार्यकाल सफल पारेका न्यौपानेले २०१३–२०१५ सम्म महासचिव रहेको उनले आफ्नो विगतको अनुभव सुनाए ।
उनीसंग २०१५–२०१७ सम्म एनसिसी संरक्षकका रुपमा काम गरेको अनुभव पनि छ । उनी भन्छन्, ‘कुनै पनि काम इमान्दारी र लगनशीलताले गर्ने हो भने सफल भइन्छ ।’
उनले आफुसंग काम गरेको अनुभव भएको र संधै समन्वयात्मक रुपमा अगाडि बढ्ने बताए । साधारण र विनम्र स्वभावका धनि न्यौपानेले आफूले अग्रज र शुभचिन्तकहरुको चाहनाले उम्मेदवारी दिन लागेको स्पष्ट पारेका छन् । जर्मनीमा लामो समयसम्म विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्दै आएका उनी सामाजिक क्रियाकलापमा अग्रणी भूमिका खेल्दै आएका छन् ।

उनले एनसिसी जर्मनीको निर्वाचनमा आफ्ना आठवटा प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

– एनआरएनए एनसिसी जर्मनी तथा सम्पूर्ण एलसिसीहरुलाई पूर्ण डिजीटलाइज गर्न पहल गर्नेछु । निर्वाचनमा अनलाई भोटिङको व्यवस्था पनि गर्न पहल गरिनेछ । एनआरएनए ग्लोबलको निर्वाचन पनि अनलाईन भोटिङ हुनुपर्ने मेरो मत रहेको अवगत गराउन चाहन्छु ।

– एनआरएनए राष्ट्रिय समन्वयन समितिमा चयन भएर क्षेत्रगत रुपमा प्रतिनिधित्व गर्ने सदस्यहरुबाट प्रत्येक एलसिसीहरुलाई समन्वय गर्ने गरि इन्चार्ज तोक्न पहल गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।

– आपतकालिन कोष सञ्चालन गर्दा अध्यक्षको मात्रै नियन्त्रणमा नरहने गरी पोर्टफोलियोमा प्रतिनिधित्व गर्ने सबैलाई समावेश गरि एउटा आपतकालिन कोष परिचालन समिति गठन गरिनेछ ।

– दोश्रो पुस्ताका नानी बाबुहरुलाई नेपाली भाषा, संस्कृति, साहित्य र कला सिकाउन स्थानीय संघ–संस्थाहरुसंग सहकार्य गर्दै विभागत कक्षाहरु सञ्चालन गर्न पहल गराउनेछु ।

– एनआरएनए जर्मनीको स्थापनाकालदेखिका अग्रज तथा अभियन्ताहरुको परिचयसहित स्मारिका प्रकाशन गर्न यथाशीघ्र पहल गरिनेछ । यसलाई अनलाई पोर्टलमा समेत उपलब्ध गराइनेछ ।

– एनआरएनए ग्लोबलले सञ्चालन गर्ने हरेक अभियानमा एनआरएनए जर्मनीले मूख्य भूमिका खेल्ने वातावरण निर्माण गरिने प्रतिबद्धता गर्दछु ।

– एनआरएनए अभियानको मूलधारमा सामेल गराउन रचनात्मक छलफल गरि समस्यालाई पहिचान गरेर समाधान खोजिनेछ ।

– र, अन्त्यमा मेरो समग्र प्रयास एनआरएनए जर्मनीलाई चाडपर्व मनाउने संस्था मात्र नभई एउटा वेलफेयर अर्गनाइजेसनको रुपमा अगाडि बनाउनु रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
यी प्रतिबद्धताहरु सुनाइरहँदा उनले आफूले बोलिमा भन्दा पनि काममा विश्वास गर्ने बताए । निर्वाचित हुने कमिटिसंग आफूले सँधै रचनात्मक काम गर्ने र सहयोग गर्ने उल्लेख गरे । सम्पूर्ण मतदाताहरुले सही व्यक्तित्व छनौट गरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता