फोन गर्न रुखको टुप्पोमा

  • हेमन्त केसी
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ ।
दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उहाँको भनाइ छ । फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ । अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताउनुभयो ।
फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।
मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ । असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन ।
विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन । सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन् । चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिनुभयो ।
मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन् । भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उहाँको भनाइ छ । (रासस)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता