नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्बाङ्ग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्बाङ्गले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गर्नुभएको छ । 
इलामको माङ्सेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कुटनीतिक पहल समेत अघि बढाएको बताउनुभयो । “कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपाली भूमी हो” उहाँले भन्नुभयो– “यस सम्बन्धमा संघीय सरकारले कुटनीतिक पहल थालीसकेको छ भने भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”
एक अर्को प्रसंगमा मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्बाङ्गले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढीरहेको भन्दै वहाँले त्यसका लागि नेपाली जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिहरुले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागि परेको बताउनुभयो । 
नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद् धिरेन्द्र शर्मा (रमण) ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा अघि बढेको बताउनुभयो । एक अर्को प्रशंगमा केन्द्रीय सदस्य रमणले इलामको पश्चिमी क्षेत्र त्यसमा पनि माङ्सेबुङ गाउँपालिका केही बर्ष अघिसम्म इलामको कर्णाली भनिने गरेको भएपनि आजसम्म आइपुग्दा विकासको एउटा उचाई हासिल गरेको र उक्त उपनाम नसुहाउने बताउनुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद् रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताउनुभयो । “हामी समाजवादी राज्य व्यवस्था निर्माणमा अघि बढेका छौं” उहाँले भन्नुभयो– “हाम्रो पार्टीको नेतृत्वमा बनेका तिनै तहका सरकारहरुले यसैलाई मध्यनजर गरेर काम गरिरहेका छन् ।” 
यसैगरी जिल्ला समन्वय समिति इलामका प्रमुख एवं नेकपा इलामका सचिवालय सदस्य गणेशप्रसाद बरालले कृषि र पर्यटनलाई माध्यम बनाएर इलाम जिल्लाको समृद्धिको यात्रामा निरन्तर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । 
नेकपा माङ्सेबुङ गाउँ कमिटी अध्यक्ष हेमन्त राईको अध्यक्षता र नेकपा स्थायी कमिटी सदस्य, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष नेम्बाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, संघीय समाजवादी, राप्रपा, जनमोर्चा, लिम्बुवान र जनमुक्ति पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए । 
नेकपा प्रदेश कमिटी सदस्यहरु जयप्रकाश राई, कान्छा लावती, जिल्ला कार्यालय सदस्य एवं इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्यहरु ओमनारायण खनाल, देवेन्द्र विश्वकर्मा, किरण राई, जनम खम्बु, जिल्ला समन्वय समिति सदस्य पूर्ण बस्नेत, गाउँपालिकाको जननिर्वाचित उपाध्यक्ष सुनिता सुब्बा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा हजारौं नेता, कार्यकर्ता, पार्टी सदस्य, शुभेच्छुक, शुभचिन्तक एवं अन्य पार्टीका प्रतिनिधि तथा कार्यालय, संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता