जिगिसा, पेम्साङ र साङ्गे तेञ्जिङलाई आर्या मेमोरियल अवार्ड, दृष्टिनालाई छात्रबृत्ति

इलाम, २९ कार्तिकः जिगिसा घिमिरे, पेम्साङ तामाङ र साङ्गे तेञ्जिङ तामाङले सातौं आर्या मेमोरियल अवार्ड जितेका छन् । ग्रीनभ्याली एकेडेमी विद्यालयको कक्षा एलकेजीमा १०० प्रतिशत सर्वोत्कृष्ट अङ्क ल्याई उत्तिर्ण गर्ने तीन जना विद्यार्थीहरुले जनही नगद रु २ हजार ५ सयसहित अवार्ड हात पारेका हुन् । ग्रीन भ्याली एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि अवार्ड वितरण गरेको हो । विजेताका अभिभावकहरुलाई विद्यालयका प्रधानाध्यापक राजन माइकल गुरुङले खदा र अविर पहिराइदिएका थिए । प्रत्येक बर्ष कक्षा एलकेजीमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ७ बर्ष यता सो अवार्डले सम्मान गर्न शुरु गरिएको हो । 
 ८ बर्ष अघि सोहि विद्यालयको कक्षा एलकेजीमा अध्ययन गर्ने छात्रा आर्या दहालको स्मृतिमा अवार्ड वितरण गर्न शुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक राजन माइकल गुरुङले जानकारी दिए । व्लड क्यान्सरका कारण अल्पायुमै निधन भएपछि आर्या दहालका बुबा डाक्टर हिमाल दहाल र आमा डाक्टर आशा कार्कीले विद्यालयमा एक ट्रष्ट खडा गरि पुरस्कार वितरण शुरु गरेका हुन् । कार्यक्रममा आर्या मेमोरियल ट्रष्टका सदस्य सुदिप श्रेष्ठले अवार्ड वितरण गरेका थिए । 
अवार्डको पुरस्कार राशी बृद्धि गरि अवार्डलाई निरन्तरता दिन ट्रष्टकी डा. आशा कार्कीले गत बर्ष ट्रष्टमा एकलाख रकम थप समेत गरेकी थिइन् । सोहि बमोजिम ट्रष्टले जेहेन्दार छात्रबृत्ति समेत वितरण गरेको छ । अल्पायुमै निधन भएका इलामका कराँते प्रशिक्षक राजकुमार मुखियाकी छोरी दृष्टिना मुखियालाई नगद रु ५ हजारको जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा आर्याको स्मृतिमा एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा पुरस्कृत विद्यार्थीको अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता