यसअघि राजनीतिमा सकृय रहेका नेपाली काङ्ग्रेसको महासमिति सदस्य टीएन भट्टराईले धर्मपत्नी विष्णुकुमारी भट्टराईसहितको नाममा रहेको जमुना ढापपोखरी नजिकैको जग्गा स्टेडियम बनाउनका लागि उपलब्ध गराउने भएका हुन् । उनले यसअघि नै ढापपोखरीका लागि पाँच रोपनी जग्गा उपलब्ध गराइसकेका छन् ।
पर्यटकीय हिसाबले जमुना र ढापपोखरी क्षेत्र अत्यन्तै सम्भावना भएको स्थानको रुपमा रहेकाले यसको विकास र यहाँ पर्यटकको आकर्षण थप्ने अभिप्रायले खेल मैदान निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरि स्टेडियम बनाउन स्थानीय बासिन्दा जुटेका छन् । त्यसलाई साथ दिन समाजसेवी भट्टराईले जग्गा उपलब्ध गराएका हुन् ।
स्थानीय बासिन्दासमेत रहेका ढापपोखरी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकार विप्लब भट्टराईका अनुसार समाजसेवी भट्टराईले ढापपोखरी र स्टेडियमका लागि ११ रोपनी जग्गा निःशुल्क दिइसकेका छन् भने उनले जम्मा २५ रोपनी जग्गा न्यूनतम् मूल्यमा स्टेडियमकै लागि उपलब्ध गराउने भएका छन् । टोलीसँगको छलफलमा टीएन भट्टराईलाई निःशुल्क प्रदान गरिएको ११ रोपनीबाहेक १९ रोपनी जग्गाका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।
जग्गा प्राप्तिपछि उक्त जग्गामा स्टेडियम बनाउने र जिल्लास्तरीयदेखि अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरि जमुनामा आगन्तुक बढाउने लक्ष्य राखिएको पत्रकार बिप्लबले बताए । समाजसेवी भट्टराईले जमुनामै रहेको स्वास्थ्य चौकीका लागि पनि दुई रोपनी जग्गा प्रदान गर्ने भएका छन् । आजकै छलफलमा उनले स्वास्थ्य संस्थालाई जग्गा उपलब्ध गराउने जनाएका हुन् ।
सन्दकपुर अनलाइनबाट साभार गरिएकाे
सन्दकपुर अनलाइनबाट साभार गरिएकाे