जीर्ण बन्दै नेपालकै पुरानो इलाम चियाकमान र पहिलो चिया उद्योग



  • विनय तिम्सिना

इलाम, २४ मंसिर । पूर्वी नेपालको इलाम चिया खेतीको लागि अग्रणी जिल्लाको रुपमा रहेको छ । जिल्लाका २० प्रतिशत जनता चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन् ।
इलाममा वि.सं. १९२० देखि नै चिया खेती शुरु भएको इतिहास छ । नेपालमा चियाखेतीको इतिहास करिब १५६ वर्ष पुरानो रहेको छ । सन् १८६२मा कर्नेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको विरूवा इलामको चियाबगानमा रोपेपछि नेपालमा चिया खेती प्रारम्भ भएको होे
वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ ।
सो चिया रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।
अर्को एक तथ्यमा नेपालमा भन्दा ७ वर्ष पहिले दार्जिलिङमा चिया खेती शुरु भएको र त्यहीबाट नेपाल भित्रिएको पनि देखिने इलाममका इतिहाँसविद युद्ध प्रसाद वैद्य बताउँछन् ।
इलाममा चिया खेती शुरु भएसँगै वि.सं. १९३५ मा इलाममा नेपालकै पहिलो उद्योगको रुपमा इलाम चिया कारखानाको स्थापना भएको थियाे । अहिले सो चिया कारखाना जीर्ण भई सकेको छ, यस्को संरक्षणको जरुरी देखिएको छ ।
त्यति मात्र होइन, तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरे । जसमा इलाम प्रमुख मानिन्छ ।
अहिले १५६ वर्ष पुरानो इलाम चिया कमान विभिन्न कारणहरुले गर्दा कुरुप र अतिक्रमणको चपेटामा परेको छ । नेपालको गर्विलो इतिहास बोकेको चिया कमान र एक सय एकचालिस वर्ष पुरानो चिया कारखानको संरक्षण गर्नका लागि सम्बन्धित निकायहरुको ध्यान जान जरुरी देखिन्छ ।
हाल इलामका १२ हजार घरधुरी चिया खेती गरिरेका छन् । जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ । एक करोड भन्दा बढी लगानीमा सञ्चालनमा १८ वटा उद्योग रहेका छन् । यस्तै दैनिक १ सय किलो देखि ५ सय किलोसम्म चिया उत्पादन गर्ने ५० भन्दा बढी उद्योग रहेका छन् । यहाँ उत्पादित चियाको ९० प्रतिशतभन्दा बढी अर्थोडक्स चिया रहेकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता