सागको पाँचौं दिन आज १७ खेलमा प्रतिस्पर्धा हुँदै, उसुतर्फ १८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

काठमाडाैँ, १९ मंसिर । जारी १३ औँ सागको पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,फुटबल,गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।
सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ ।
यता, सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।
यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फ नेपालले भुटानसँग खेल्दैछ भने दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू २३ संग खेल्ने छ । पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
उसुतर्फ आज १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ (सान्डा–फाइट) हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन आज सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता