१२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा

इलाम, १२ माघः नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा १२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । 
प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ निर्णायक मण्डलमा रहनुभएको छ ।
नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ । 
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । 
सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्नेछ । 
कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।
यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।
पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता