एभरेष्ट पानोरामा रिसाेर्टमा अचेत भेटिएका ४ जना बालबालिका सहित आठै भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरामा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
रिसोर्टमा बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । यहाँस्थित हेम्स अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचारकै क्रममा रहँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।
अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा भर्ना गरेलगत्तै चिकित्सकले आठै जनालाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेहरुमा भारतकाे केरला बस्ने बर्ष ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, अनुमानित ३७ वर्षीय प्रबिण ३२ वर्षीया सरिया रहेका छन् । यसैगरी मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षकी अर्चना, ५ वर्कका वैष्णव, तथा ९ वर्षकी बन्द्रा रहेका छन् ।
मृत्यु हुनेहरुमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेकाे प्रहरीले जनाएकाे छ ।
भारतको केरलाबाट पोखरा हुँदै दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमा एउटै कोठामा सुतेका उनीहरु मंगलबार बिहान अचेत भेटिएका थिए ।
मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरामा सोमबार राति बास बसेका उनीहरु बिहानै अचेत अवस्थामा भेटिएका थिए ।
सूचना पाएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनास्थलमा टोली पठाएर अनुसन्धान सुरु गरेको छ । १५ जनाको समूहमा दामन घुम्न आएका भारतीय पर्यटक रिसोर्टको एउटा कोठामा ७ जना र अर्कोमा ८ जना गरेर बसेका थिए ।
८ जनाकाे काेठामा राति चिसो बढेको भन्दै उनीहरुले ग्याँस हिटर बाल्न होटलमा आग्रह गरेपछि होटल सञ्चालकले हिटर बालिदिएको र सोही कारण अक्सिजन अभावमा उनीहरु बेहोस वा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
अर्को कोठामा सुतेका ७ जना भने सबै सकुशलै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टपछि मात्र प्रस्टसँग खुल्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता