चीनकाे वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना चीनमै रोकिए

काठमाडाैं, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तबाट १७५ नेपालीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट आइतबार बिहान करिव साढे तीन बजेतिर काठमाडौं ल्याइपुर्याइएको हो ।
उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार तथा २/२ जना पर्यटक तथा बालबालिका रहेका छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रु-मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो ।  निगमको एयरबस ३३० शनिबारै अपरान्ह चीनतर्फ उडेको थियो ।
नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका  छन् । बेइजिङस्थित नेपाली दूतावासकाे अनुसार चार जनाले उतै बस्ने जनाएका छन् । फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन् । कोरोना भाइरसको कुनै पनि लक्षण तथा संक्रमण नभएको पुष्टि भएकालाई मात्रै नेपाल फर्काइएकाे हाे ।
फर्किन नपाएकाहरुलाई वुहानमै क्वारेन्टाइनमा चिकित्सकीय निगरानीमा राखिनेछ ।
कोरोना भाइरसको संक्रमण चीनभर फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।
भक्तपुरकाे खरिपाटीमा राखिने
चीनको वुहानबाट स्वदेश फर्काउन लागेका नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । वुहानबाट स्वदेश फर्किएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिने छ ।
क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा फडिन्द्रप्रसाद बरालले बताउनुभयाे ।
क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ। डा बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयाे ।
क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा र महिला निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ ।
प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ।
कोरोनाको उच्च संक्रमण रहेको ठाउँबाट उद्धार गरेर ल्याएपछि कवारेन्टाइनमा राख्‍न लागिएका नेपाली विद्यार्थीलाई १४ दिनसम्म अभिभावकले भेट्न नपाउने भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता