इलामेली चेली अन्जना डेढ दशकदेखि असहाय बालबालिकाको सेवामा

इलाम — इलाममा जन्म, झापामा हुर्के–बढेकी अन्जना गुरुङ केही समययता बेलायतमा छिन् । यता रहँदा आफूले केही सिक्ने बेलामै असहाय बालबालिकाका लागि केही गर्नुपर्छ भन्ने लागेर सकेको सहयोग गरिन् । बेलायत पुगेपछि पनि उनले सहयोग जुटाएर दुःखमा परेका बालबालिकालाई पठाउने गरेकी छन् ।
४० वर्षीया अन्जनाले यसरी सहयोग गर्न थालेको २४ वर्षकै उमेरदेखि हो । बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रममा उनी मनकारीहरूबाट सहयोग जुटाउँछिन् । तिज, दसैं, तिहार र अरू मौकामा भेला हुने नेपाली अनि विदेशीहरूलाई कारण बताएर उनी सहयोग जुटाउने गर्छिन् । दुःखमा परेका बालबालिका, वृद्धाश्रमलाई सघाउनेदेखि अभियन्ता महावीर पुनलाई समेत उनले सहयोग जुटाइदिएकी छन् ।
एसएलसी दिएपछि इलामस्थित घरेलु कार्यालयबाट सिलाइकटाइको तालिम लिएकी उनी स्थानीय महिला जागरण संघमा रहेर पनि सामाजिक काममा सक्रिय भइन् । ‘दिदी र परिवारले काठमाडौंमा आएर अझै धेरै कुरा सिक्न सकिने सुझाव दिनुभयो,’ अन्जनाले भनिन्, ‘काठमाडौं आएपछि बागबजारमा सिलाइ बुनाइको तालिम लिन जाँदा बिक्रीमा रहेको एउटा पसल किनेर बुटिक व्यवसाय गर्न थालें ।’
उनको बुटिक पसलमाथि समाजसेवामा चिनिएकी इन्दिरा राना मगरको ‘पीए नेपाल’ नामको कार्यालय थियो । चिनजान भयो । इन्दिराको संघर्ष र मेहनतलाई नजिकबाट नियाल्ने मौका पाइन् । उनको संस्थाले जेलभित्र बसेकाहरूको बालबालिकालाई बाहिर निकालेर शिक्षादीक्षा दिने काम गरेको देखेपछि अन्जनालाई पनि त्यस्तै काम गर्न प्रेरणा जाग्यो ।
‘२००३ मा इन्दिरा दिदीसँग रहेका दुई जना बच्चालाई मैले सँगै राख्ने मौका पाएँ । उनीहरूलाई लालनपालनदेखि लिएर शिक्षादीक्षाको काम आफैं गरें । दुई बच्चामध्ये एक अशक्त थिए । तातो भातले पोलेकाले उसको एउटा खुट्टा कुहिन लागेको थियो’, अन्जनाले भनिन्, ‘धुलिखेल अपांग अस्पतालमा लगेर उपचार गरिदिएँ । हरेक हप्ताको आइतबार अस्पताल लैजानुपर्थ्यो ।’ बालकको फिलामा रड लगाइएको थियो । पछि त्यो रड निकालेर पूर्ण रूपमा निको भइसकेपछि उनलाई तालिम दिलाइन् । अहिले ती बालक दुबईमा काम गरिरहेको अन्जनाले सुनाइन् ।
आफूले शिक्षादीक्षासँगै स्वरोजगार गराएका दुई बच्चा आफ्नै काममा लागेपछि अन्जनाले खाली समय पीए नेपालका बालबालिकासँग बिताइन् । परिवार र बालबच्चाका कारण सन् २०१० मा पतिका साथ लन्डन गइन् । त्यहाँ रहेको एक नेपाली संस्थामा उपाध्यक्ष रहेर उनले बालबालिकाका लागि पनि केही काम गर्ने मौका पाइन् ।
‘उता बस्दा पनि बालबालिकाका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । लन्डनमा रहँदा धेरै साथी, संघ र संस्था चिन्ने मौका पाएँ । त्यसपछि सन् २०१४ मा फन्ड रेजिङको सानो च्यारिटी कार्यक्रम गरियो । त्यो कार्यक्रममा झन्डै ६ लाख रुपैयाँ जुटेको थियो । त्यो पैसा पीए नेपालका बालबालिकाका लागि सहयोग गयौं ।’ केही समयअघि काठमाडौं आएकी अन्जनाले अभियन्ता महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख ५३ हजार रुपैंयाँ प्रदान गरिन् । उनले यो रकम आफू रसाथीभाइहरूको सहयोगबाट जुटाएकी थिइन् । समाजसेवामा अन्जनाको आगमनको कारण उनी परिवारलाई दिन्छिन् ।
‘बालबालिकालाई सहयोग गर्ने प्रेरणा मैले घरबाट नै पाएँ । श्रीमान्ले पनि सहयोग गर्नुभयो’, अन्जना सम्झिन्छिन्, ‘धेरै परिवारको घरबार बिग्रिएर बालबालिकाको बिचल्ली भएको देखेको छु । राम्रो परिवार भए पनि बालबालिका पीडित भएका घटना धेरै छन् । त्यस कारण उनीहरूका लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।’
उनले इलाममा रहेको अनाथाश्रम र एक अपांग आश्रमलाई पनि सहयोग गरेकी छन् । ‘यहाँ बस्दा आफ्नोमात्र मतलब हुने, बाहिर बस्दा चाहिँ नेपालको मात्र चासो हुने रहेछ’, उनले भनिन्, ‘केही खाने कुराफाल्न खोज्दा पनि अभावमा रहेका कति जनाले खान पाउँथे भन्ने लागिरहन्छ ।’ सामाजिक कामकै कारण अन्जनालाई नागरिक एकता समाजले ‘राष्ट्रिय नारी सम्मान २०७६’ बाट सम्मान गरिसकेको छ ।
इकान्तिपुरबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता