प्रदेश नं. १मा लकडाउनको पालना नभएको मुख्यमन्त्री राईको निष्कर्ष, कफ्र्यूसम्म लगाइन सक्ने चेतावनी

विराटनगर, १७ चैत । प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले लकडाउनको पालना नभएको निष्कर्ष निकाल्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई कडाईका साथ पालना गराउनुपर्ने बताउँदै मुख्यमन्त्री राईले लकडाउन पालना नभएको ठाँउमा कफ्र्यू सम्म लगाउन सकिने चेतावनी दिनुभएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसंग छलफल गर्दै मुख्यमन्त्री राईले लकडाउन पालना नगरिए जोखिम बढ्न सक्ने भएकाले लकडाउन पालना नभएको ठाँउमा कफ्र्यु लगाएर भएपनि पालना गराउने स्पष्ट पार्नुभयो ।
उहाँले कोरोना भाइरससंगको युद्धमा प्रदेश सरकारले लकडाउन पालना र खाद्य आपूर्ति व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले राहत वितरणलाई प्रभावकारी बनाउन कोरोना उपभोक्ता कार्ड मार्फत खाद्यान्न सामग्री वितरणको तयारी प्रदेश सरकारले गरेको जानकारी दिनुभयो । सो छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले कोरोना भाईरसको संक्रमण रोक्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरु बारे सुझाव दिएका थिए ।
यसैबीच कोरोना जनसुरक्षा कोषमा विराटनगरस्थित सिटिजन्स बैंकले ७ लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रम बीच सो चेक बैंकका प्रमुखले मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभयो । यसैगरी जीवन विकास समाजले ५ हजार कोरोना प्र्रभावित गरीब परिवारलाई खाद्यान्न वितरण गर्न ५० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
समाजले उपलब्ध गराएको खाद्यान्नमा प्रति परिवार १० किलो चामल, ५ किलो आलु, १ केजी नुन र एक लिटर दुध वितरण गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता