इलाममा कोरोनाको परीक्षण शुरु ६ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

इलाममा सोमबारबाट क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण शुरु गरिएकोे छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट एक सय बीस थान र्यापिड डाइग्नोस्टिक टेस्ट किट आएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । शुरुमा विभिन्न देशबाट आएका र क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण थालिएको छ ।

स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालका अनुसार जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट किट आएसंगै कोरोनाको परीक्षणमा सहज भएको बताउनुभयो । त्यसका लागि आवश्यक जनशक्तिसमेत रहेको बताउनुभयो । कोरोना त्रासका कारण लकडाउन भएपछि पहिलोपटक जिल्लामै शंकास्पदहरुको परीक्षण गरिन थालिएको हो । सोहीअनुरुप सोमबार क्वारेन्टाइनमा बसेका ६ जनाको परीक्षण गरिएको छ ।

इलाम नगरपालिकास्थित डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका ३ जना र सूर्योदय नगरपालिकाको पशुपतिनगरको क्वारेन्टाइनमा बसेका तीनजनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका ६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शंकास्पद रिपोर्ट आएको खण्डमा स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने बरालले बताउनुभयो ।

जिल्लाका चार स्थानीय तहमा अझै १४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा सूर्योदय नगरपालिकाको पशुपतिनगरमा तीनजना, माई नगरपालिकामा चारजना, इलाम नगरपालिकामा तीनजना र रोङ गाउँपालिकामा चार गरी १५ जना रहेका छन् । अन्य विदेशबाट आएकाहरु भने १४ दिनको क्वारेन्टाइन अवधि पुरा गरी घर फर्किएका छन् ।

इलाम नगरपालिकास्थित डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा रहेका दुई जना बाग्लुङकी कोरोना संक्रमित युवतीसंगै यात्रा गरेर आएकाले उनीहरु अझै पनि क्वारेन्टाइनमा रहेको इलाम अस्पतालका डाक्टर प्रभु शाहले बताउनुभयो । जिल्लामा यसअघि चार जनाको स्वाब परीक्षण गरिएको थियो । चारैजनाको परीक्षण नतिजा नेगेटिभ आएको थियो ।

दुई जना बिरामी कोशी अञ्चल अस्पतालमा रिफर गरिएका थिए भने विदेशबाट आएका अन्य दुई जनाको स्वाब संकलन गरि पठाइएको थियो । किट आएपछि द्रूत गतिमा नमूना परीक्षण हुने र नतिजासमेत नेगेटिभ आउने विश्वास गरिएको छ ।
नेपाल समाचारपत्रबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता