इलाममा कोभिड–१९ को सूचना संयन्त्र नामको मात्रै


  •  भीम चापागाईं

इलाम- जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को आधिकारिक विवरण र सूचनाप्रवाहका लागि निर्माण गरिएको एकीकृत सूचना संयन्त्र नाममात्रैको भएको छ। आवश्यक परे छिनछिनमै अद्यावधिक गर्नुपर्ने कोभिड–१९ बारेको तथ्यांक अद्यावधिक र सार्वजनिक त गरिँदैन नै, सञ्चारकर्मी र सरोकारवालाले मागेका बेलासमेत पाउन सकेका छैनन्।

कोभिड–१९ को जोखिम बढेपछि देशमा चैत ११ देखि लकडाउन छ। यस्तो अवस्थामा नागरिकले कुनैपनि सूचना लिनुपरे विशेषगरी विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भर पर्नुपर्छ। जिल्लामा कोभिड–१९ बारे भइरहेको गतिविधि, तथ्यांक र विवरणमा एकरूपता ल्याइ एकद्वारबाट सार्वजनिक गर्न सरोकारवालाको बैठकले जिल्ला प्रशासन कार्यालयलाई सूचना प्रदायक संयन्त्र तोकेको थियो। जिल्ला प्रशासनले सुरुका केही दिन दैनिक प्रेस नोट जारी गरी जिल्लाको विवरण अद्यावधिक गर्‍यो। र, चैत ३० सम्म प्रशासन कार्यालयले प्रेस नोट जारी नभएको दिन पनि १० वटै तहको सूचना संकलन गरी एकीकृत रूपमा अद्यावधिक गर्दैथियो।

  तर, जिल्ला समन्वय समितिको आयोजनामा चैत ३० मा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सबै स्थानीय तहबाट प्रतिवेदन/सूचना लिइ जिससले नै प्रवाह गर्ने निर्णय गर्यो। जिल्ला प्रशासनभन्दा ‘प्रोटोकल’को हिसाबले जिससले चाहिँ स्थानीय तहबाट सूचना संकलन गर्न सजिलो हुने सरोकारवालाको सुझावपछि यस्तो निर्णय गरिएको थियो।

   त्यसयता जिससले नियमित रूपमा नागरिकलाई कोभिड–१९ बारे आवश्यक र आधिकारिक सूचना प्रवाह गर्न सकिरहेको छैन। दैनिक गतिविधि र तथ्यांकबारे आधिकारिक सूचना, प्रेस नोटलगायत त जारी गरेको छैन नै, सरोकारवालाले राखेको जिज्ञासामा समेत चित्तबुझ्दो जवाफ दिन सकेको छैन। कोभिड–१९ बारे दिनहुँको विवरण अद्यावधिक गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा ‘सरोकारवाला’को एउटा समूह बनाइएको छ। तर, त्यसमा पनि दिनहुँ सबै स्थानीय तहमा के भयो भन्ने जानकारी राखिँदैन। कहिलेकाहीं केही स्थानीय तहको विवरण राखिन्छ, त्यो पनि अपूर्ण।

  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा इलाम पोस्ट दैनिकका सम्पादक सटेन्द्र जबेगू अहिले कोभिड–१९ बारे जिल्लाको सूचना लिने विषयमा सञ्चारकर्मी ‘कुहिराको काग’ हुनुपरेको बताउँछन्। ‘सूचना लिन ज्यादै असहज भएको छ। सञ्चारकर्मीले सूचना लिन स्थानीय तह नै पिच्छे सम्पर्क गर्दा कहिले सम्पर्क हुन नसक्ने, सम्पर्क हुँदा पनि यकिन सूचना पाउन नसकिने समस्या छ,’ उनले भने, ‘बरु जिल्ला प्रशासनले सूचना दिउञ्जेल ठिकै थियो, जिससले गर्ने भएपछि जिल्लाको अद्यावधिक विवरण आउनै छाडेको छ।’ उनले कोभिड–१९ बारे सर्वसाधारणले लिन चाहेको सूचना प्रवाह हुन नसकेको बताए।’

सामाजिक सञ्जाल फेसबुकको ग्रुपमा जिससका सूचना अधिकारीले कार्यालयमा आएका सूचना अद्यावधिक गर्छन्। तर, निरन्तरता छैन। अझ, वैशाख १० मा त उनले ग्रुप च्याटमा लेखेका छन्– ‘स्थानीय तहहरूबाट कुनै पनि विवरण उपलब्ध नभएको।’

 गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष कमल नेपाल जिससले गरिरहेको सूचना अद्यावधिकको काम पूर्ण हुन नसकेको बताउँछन्। ‘जिससले प्रत्येक दिन जसरी सूचना संकलन गरी प्रवाह गर्न सक्नुपर्ने हो, त्यो भएको छैन,’ उनी भन्छन्, ‘कहिलेकाहीं त जिसस र प्रशासन कार्यालयको विवरण नै फरक–फरक आइरहेको हुँदा अन्योल हुन्छ।’

 नेपाल पत्रकार महासंघका १ नम्बर प्रदेश उपाध्यक्ष तथा रेडियो नेपालवाणीका स्टेसन म्यानेजर सोम सुसेली जिल्लामा कोभिड–१९ बारे सूचना अद्यावधिक गर्न ज्यादै असहज भएको बताउँछन्।  जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल स्थानीय तहबाट जिससमा सूचना आउन नसक्दा एकीकृत सूचना संयन्त्र प्रभावकारी हुन नसकेको बताउँछन्।
नागरिक न्युजबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता