भारतमा पनि लकडाउन लम्ब्याएर ३० अप्रिलसम्म पु-याउने भारतीय प्रधानमन्त्री मोदीको संकेत


काठमाडौं, २९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भारतमा लकडाउन लम्बिने संकेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुसंग छलफल गर्नु भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यस्तो संकेत गरेका हुन् ।
भिडियो कन्फ्रेन्समा मोदीलाई मुख्यमन्त्रीहरुले लकडाउन कम्तिमा ३० अप्रिलसम्म लम्ब्याउन सुझाब दिएका थिए ।
पछिल्लो समयमा भारतमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको समयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनजीले लकडाउन दुई साता लम्ब्याउन सुझाव दिएकी छिन् ।
यसैबीच, सबै भन्दा धेरै कोरोना संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री मोदीलाई ३० अप्रिलसम्म लकडाउन जारी राख्न सुझाव दिनुभएको थियो । २५ मार्चदेखि भारतमा २१ दिने लकडाउन जारी छ ।
तरपनि भारतमा कोरोना संक्रमितहरुको संख्या बढिरहेका छन् । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगेको छ ।
शनिबार मात्र भारतमा ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ७ हजार ८ सय ७६ पुगेको छ । यसैबीच ७ सय ७४ जना निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता