उखरमाउलो गर्मी, भोकप्यास, जंगलको वास : वुटवलबाट विराटनगरको १२ दिने पैदल यात्रा


  • बालबिक्रम कार्की,
रौतहट, ५ वैशाख । उखरमाउलो गर्मी, त्यसमाथि भोक प्यास र सामानको भारी पैदल घर हिंडका हजारौ नेपालीको नियति बनेको छ, अहिले ।
पूर्व पश्चिम राजमार्गमा यो लर्को हरेक दिन देख्न पाइन्छ । एउटै बोली छ उनीहरुको ‘भोकै मर्नु भन्दा हिंडेर नै घर पुग्ने हो !’
कामको अभावमा खाद्यान्न सकिएपछि अहिले श्रमिकहरु सयौँ किलोमिटर हिँडेर आफ्नो घर फर्कन थालेका छन् । अहिले देशैभरका राजमार्गमा यस्ता पैदलयात्रुहरु प्रशस्त देख्न पाइन्छ ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा पनि यस्ता पैदलयात्रुहरु देख्न सकिन्छ । विशेषगरी देशको राजधानी काठमाडौँ एवम् पश्चिमी क्षेत्र हुँदै पूर्वी क्षेत्रमा हिंडेका यात्रुहरुले यो सडकखण्ड प्रयोग गर्दछन् ।
शुक्रबार यहीँ सडक खण्डमा भेटिएकाहरुले लकडाउनको कारण काम नभएर भोकभोकै बस्नुपरेको अवस्थामा जसरी पनि घर आफ्नै घर जानुपर्छ भनेर हिडेको बताएका छन् ।
तीन दिन अघि वुटवलबाट हिडेर चन्द्रनिगाहपुर आइपुगेका मोहम्मद नहिमले आफूहरु वुटवलमा घर प्लाष्टर गर्ने काम गर्दै आइरहेकोमा लकडाउनले काम नभएपछि विराटनगर स्थित घर जान भनेर हिडेको सुनाए ।
पाँच दिन अघि वुटवलबाट हिंडेका उनीहरु अब छ–सात दिनमा विराटनगर पुगिनेमा आशावादी थिए । उनीहरुले चाउचाउ र पानीको भरमा दैनिक आठ–दश घण्टा हिडेर चन्द्रनिगाहपुरमा आइपुगेको बताउँदै बाटोमा जहाँ थकाइ लाग्यो त्यहीँ सुत्ने गरेको तीतो अनुभव सुनाए ।
उनीहरुले बाटोमा केही गाडीहरु आएपनि नरोक्को भन्दै यस्तोबेला सरकारले पनि श्रमिकहरुलाई वेवास्ता गरेको गुनासो गरे । पाँचजनाको समूहमा रहेका उनीहरु वुटवलमा भोकभोकै मर्नुभन्दा हिडेरै आफ्नो घरमा पुग्ने भन्दै हिडेको उनीहरुको भनाइ छ ।
चन्द्रनिगाहपुरबार वुटवल करिब २ सय ६५ किलोमिटर पश्चिम र विराटनगर करिब २ सय ४७ किलोमिटर पूर्वमा अवस्थित छ ।
तीन जना काखे नानीहरुले लिएर धादिङदेखि सिन्धुलीको यात्रा
यसैगरी सोही राजमार्गमा भेटिएका सिन्धुली आइतसिंक तामाङको पीडा पनि उस्तै थियो । ६ जनाको समूहमा धादिङ्गदेखि पैदल आएका उनीहरुका साथमा तीनजना काखे शिशुहरु पनि थियो ।
काखे शिशुलाई पिठ्युमा बोकेर उनीहरु दुई दिन धादिङ्गबाट आफ्नो घर सिन्धुलीको मरिन भन्ने ठाउँका लागि हिडेका थिए । धादिङ्ग स्थित इट्टाभट्टामा मजदूरको रुपमा कार्यरत उनीहरुलाई लकडाउनका कारण इट्टाभट्टा बन्द भएकाले खान नपाउने अवस्था भएपछि घर जान भनेर पैदल निस्कीएका थिए ।
बाटोमा बच्चा बोकेको देखेर कुनैकुनै छोटो दूरी सम्मकालागि ट्रकहरुले चढाएपनि अधिकांस ठाउँमा पैदल नै हिडेर आइपुगेको उनीहरु बताउँछन् । उनीहरुले बाटोमा खानको लागि कोठाबाटै रोटी बोकेको र त्यो सकिएपछि चाउचाउ र चिउरा खाएर हिडिरहेको उनीहरुले सुनाए ।
‘जसरी पनि घर पुग्नुपर्छ भनेर हिडेका छौँ’ तामाङ् भन्छन्, कोठामा खान नपाएर मर्नुभन्दा हिडेरै घर पुग्नु ठीक ठानेर हिडेका हौँ । अब दुई दिनमा त कसो घर नपुगिएला ।’
उनले रातिको समयमा आफूहरु जंगलमा सुतेको र बाटोमा सहयोगी मनहरुले दिएको पानी र चाउचाउको भरमा चन्द्रनिगाहपुरसम्म आइपुगेको बताए । चन्द्रनिगाहपुरबाट धादिङ्ग करिब २ सय ४४ किलोमिटर र सिन्धुली करिब १ सय १६ किलोमिटर टाढा पर्दछ ।
अधिकांश पैदल यात्रुको खुट्टा सुन्निए
यसरी पैदल आउनेहरु अधिकांस श्रमिकहरु रहेका छन् । उनीहरु लकडाउनले कामबन्द भएपछि पैसाको अभावमा खाना सकिएर भोकभोकै पर्ने अवस्था आएपछि जे पर्ला पर्ला भनेर आफ्नो घरसम्म हिडेरै जान लागेको बताउँछन् ।
उनीहरुले आफुहरुले दुःखपाउँदा सरकारले कुनै किसिमको सहजीकरण नगरेको भन्दै आफुहरु राज्यविहीन जस्तो भएको गुनासो गरे । यसरी हिडेर आउने अधिकांशको खुट्टाहरु सुन्निएका थिए भने राम्रोसँग बोल्न नसक्ने अवस्थामा उनीहरु रहेका थिए ।
उनीहरुले पहुँच र पैसा भएकाहरुले लकडाउनमा पनि गाडीको पास बनाएर आफ्नो आफन्तहरुलाई विभिन्न स्थानबाट ल्याइरहेको भन्दै आफूहरु जस्तो श्रमिकको दुःख कसैले पनि नबुझेको दुखेसो गरे ।
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता